नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला पन्त मधेस यात्रामा छिन्।
१५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तयारी छ। उक्त महाधिवेशनअघि केन्द्रीय सदस्य डिलाले मधेसकेन्द्रित गतिविधिलाई तीव्रता दिएकी हुन्।
उनले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषाको यात्रा पूरा गरिसकेको जानकारी दिइन्।
‘मधेस नेपाली कांग्रेसको आधार भूमि रहेकोले म सुरूमा मधेसमै यात्रामा निस्केको हुँ,’ उनले भनिन्, ‘महाधिवेशन तोकिएको अवस्था छ, अब म पदाधिकारी उठ्ने तयारीमा पनि छु।’
उनी सहमहामन्त्री उठ्ने तयारीमा छिन्।
उनले पार्टीलाई रूपान्तरणका लागि आफू जिल्ला जिल्ला पुगेर नेता कार्यकर्ताहरूसँग छलफल गरिरहेको बताइन्।
भदौ २३–२४ को जेनजी आन्दोनलपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा चुनाव हुने वातावरण बन्दै गएको उनको भनाइ छ।
पछिल्लो समय मधेसमा उदाएका नयाँ शक्तिहरू र क्षेत्रीय दलहरूको प्रभावका बीच कांग्रेसको संगठनमा देखिएको सुस्ततालाई चिर्नु अहिलेको आवश्यकता रहेको उनले बताइन्।
उनले १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गरी गुटबन्दीभन्दा माथि उठेर ‘नीति र विचारको कांग्रेस’ बनाउनु पर्नेमा जोड दिएकी छन्।
‘१५ औं महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र होइन, यो कांग्रेसलाई २१ औं शताब्दीको गति र प्रविधिसँग जोड्ने अवसर पनि हो। त्यसैलै हामीलाई पद मात्र होइन, जनताको विश्वास जित्ने संगठन चाहिएको छ,’ उनले भनिन्।