पृथ्वी जयन्ती मनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरेको छ।
राप्रपाले पुस २७ गते ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन विभिन्न समितिहरू गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार अध्यक्ष लिङ्देनको अध्यक्षतामा मूल समिति गठन भएको हो भने विभिन्न उपसमितिहरू पनि गठन भएको छ।
राप्रपाले २०६४ देखि पृथ्वी जयन्ती मनाउँदै आएको छ। पृथ्वी जयन्तीका अवसरमा राप्रपाले चियापान कार्यक्रमलगायत गर्नेछ।
पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले मञ्च व्यवस्थापन र जलपानको व्यवस्थाका लागि पार्टी केन्द्रीय सचिवालयलाई, अतिथि सत्कार र निमन्त्रणा वितरणका लागि महामन्त्री भुवन पाठकलाई, स्वयं सेवक परिचालनका लागि पार्टीको युवा संगठन, विद्यार्थी संगठन र युवा मोर्चालाई, र्याली र झाकीका लागि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अध्यक्षहरू क्रमश: नवराज सिंखडा, अर्जुन कार्की र अष्ट महर्जनलाई एवं नेवा: झाकीका लागि राजेन्द्र प्रजापती र नूरज बज्राचार्यलाई जिम्मेवारी दिइएको छ।
सुरक्षा निकाय समन्वय समितिका लागि दीपक रन्जितलाई र सांस्कृतिक कार्यक्रम व्यवस्थापनको मिलन मोक्तानलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको उनले बताए।
अतिथि सत्कार समितिमा महामन्त्री भुवन पाठक संयोजक र सदस्यहरूमा श्यामबहादुर शाही, जयन्तनाथ खनाल, भरत प्रसादपाठक, वरिष्ठ अधिवक्ता राजु बस्नेत, दिनेश कार्की, आशा लामा, स्वाती थापा, खुस्बु ओली, बिना लामा, दीपक रन्जित, सुरेन्द्रबहादुर पाण्डे र सदस्य सचिवमा रहरबहादुर खड्का छन्।
विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने क्रममा अन्य कार्यक्रम तय गर्न उपाध्यक्ष उद्धब पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा हिक्मतजंग कार्की, सजिना कार्की, जनकराज पाठक, आशा लामा, राजेन्द्र प्रजापति सदस्य रहेका छन्।
प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय जनकराज पाठक र उद्धबराज भेटुवाल सदस्य रहेको प्रचार समिति गठन गरेको राप्रपाले जनाएको छ।
पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।