लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर नगर्ने जनाएको छ।
पार्टीका नेता शरतसिंह भण्डारीले सेतोपाटीसँग कुराकानी गर्दै आफ्नो पार्टी प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा नरहेको बताए।
‘हाम्रो पार्टी ताजा जनादेशको पक्षमा छ,’ भण्डारीले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा होइन, चुनावको पक्षमा छ।’
नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालतमा गएका बेला लोसपाले भने अदालत नजाने स्पष्ट पारेको हो।
‘हामी पुनर्स्थापनाका लागि अदालत जाँदैनौं,’ भण्डारीले भने, ‘पार्टीले चुनावमा जाने निर्णय गरेको छ।’
कांग्रेस एमालेका कतिपय नेताहरूले लोसपा पनि संसद पुनर्स्थापनाको पक्षमा रहेको र हस्ताक्षरका लागि सँगै अदालत जाने बताएका थिए।
दुई दलका बहुमत निवर्तमान सांसदहरूले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिसकेका छन्।