नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै चाहनाअनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको रिट सर्वोच्च अदालतमा पुगेको खुलासा गरेका छन्।
आफूले हालै सभापति देउवासँग भेट गर्दा प्रतिनिधि सभा पुनर्स्थापना रिटबारे जिज्ञासा राखेको र त्यस क्रममा सभापति देउवाले आफ्ना नेताहरूलाई सर्वोच्च पठाएको बताएको प्रचण्डले खुलासा गरेका हुन्।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रिट लिएर सर्वोच्च पुगेका थिए भने अहिले बहुमत जुटाउने भन्दै कांग्रेसका ६६ बढी निवर्तमान सांसदले हस्ताक्षर गरिसकेका छन्।
तर घिमिरे र थिङसहित हस्ताक्षर गरेका निवर्तमान सांसदहरूले स्वतस्फूर्त रूपमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट दिएको दाबी गर्दै आएका छन्।
यही बीचमा नेकपा संयोजक प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता हुँदा सभापति देउवाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट दिन नेताहरूलाई सर्वोच्च पठाएको कुरा बताएका हुन्।
यो कुरा संयोजक प्रचण्डले पत्रकार राजेन्द्र बानियाँसँग नेपाल लिडको ‘प्रष्ट प्रश्न’ अन्तर्वार्ताका क्रममा खुलासा गरेका हुन्।
‘कांग्रेसका नेताहरू प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लिएर जानुभएको छ। तर कांग्रेसले औपचारिक र संस्थागत निर्णय त आमनिर्वाचनमा सहभागी हुने भनेर गरेको छ। अहिले भटाभट उम्मेदवार सिफारिस भइरहेका छन्। हामीभन्दा अघि छ, नेपाली कांग्रेस,’ प्रचण्डले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाबारे कांग्रेसले संस्थागत निर्णय गरेको छैन। शेरबहादुर देउवाजी ढाँट्नु हुन्न, मलाई यो कुरा खुसी लाग्छ। उहाँले मसँग भेट्दा जानुहोस् भनेको हो भन्नुभयो, मैले धन्यवाद पनि भनेँ।’
संयोजक प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लिएर एमाले पहिले सर्वोच्च गएको भए पनि एमाले निर्वाचनमा भाग लिने बताए।
‘एमाले पुनर्स्थापनाको मुद्दा लिएर पहिले सर्वोच्च गएको हो तर निर्वाचन आयोगमा दल दर्ता त गर्यो, चुनावका लागि कार्यकर्ता परिचालन गरिरहेको छ। चुनाव भनेपछि एमालेले कहाँ छोड्छ?’ प्रचण्डले भने।
साथै संयोजक प्रचण्डले कांग्रेस सभापति देउवासँगको भेटमा गठबन्धनबारे कुरा गरेको पनि सुनाए।
‘केही दिन अगाडि मात्रै मैले उहाँलाई भेटेर पनि समग्र परिस्थिति कसरी बुझ्नुभएको छ, जेनजी आन्दोलनदेखि यहाँसम्मको घटनाक्रमबारे गम्भीर ढंगले समीक्षा पनि गर्यौं। आउने दिनमा लोकतन्त्र, संविधान र गणतन्त्र रक्षाका लागि हामीले मिलेर अब के गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भयो,’ प्रचण्डले भने, ‘उहाँले पनि मप्रति गुनासो गर्ने ठाउँ थियो, गर्नुभयो। मेरो पनि उहाँप्रति गुनासो थिए छन्, मैले पनि गर्ने नै भएँ। बदलिएको परिस्थितिमा एकअर्काप्रति गुनासो होइन, विगतका अनुभवबाट शिक्षा लिएर देशको निम्ति, लोकतन्त्रका निम्ति फेरि सहकार्य गरेर जानुपर्छ भनेर कुराकानी भएको छ, म आशावादी छु।’
उक्त छलफलले नै मधेसमा कांग्रेस नेतृत्वमा सरकार बनेको उनको भनाइ छ।
‘मधेसमा कांग्रेस नेतृत्वमा सरकार बनाएर जाने र अन्य पार्टीहरूले साथ दिने कुरा भयो। यस विषयमा मैले अलिकति मेहनत गरेकै हो,’ उनले भने, ‘सहज र स्वाभाविक गठबन्धन नेकपा र कांग्रेस नै हो। मधेस मात्र होइन सबै प्रदेशतिर गठबन्धन होस् भन्ने म चाहन्छु।’
कांग्रेस र एमाले प्रतिनिधि सभा पुनर्स्थापनामा लाग्दा जनता झस्केको देखेको पनि उनले बताए। ‘मैले शेरबहादुरजीलाई भेट्दा पनि संसद पुनर्स्थापनाको सैद्धान्तिक विरोधी त हामी पहले पनि थिएनौं भन्ने सामान्य कुरा भएको थियो। तर आजको आवश्यकता घोषित निर्वाचन होस् भन्ने हो। अहिलेको निकासका लागि निर्वाचन हुनुपर्छ,’ उनले भने, ‘संसद विघटन सही भएको छैन त हामीले पनि भनेका छौं तर देश शून्यता र अस्तव्यस्ततिर जाने देखेपछि यो अवस्था आयो।’