नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रतिनिधि सभा समानुपातिकतर्फ पनि उम्मेदवार नहुने बताएका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा धारणा राख्दै महामन्त्री शर्माले आफू समानुपातिकतर्फ उम्मेदवार बस्यो भने पार्टीका साथीहरूको अवसर र सम्भावना खोसिने बताएका हुन्।
‘प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकबाट संसदमा जाने भन्ने होइन,’ महामन्त्री शर्माले बैठकमा भनेका कुरा उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘पार्टी महामन्त्री समानुपातिकमा बस्नु भनेको एक अर्को साथीको सम्भावना र अवसर खोस्नु हो, म त्यस्तो गर्न चाहन्न।’
उनले आफू संसदमा नगएर सम्पूर्ण समय पार्टीमा काम गर्न चाहेको पनि बताएका छन्।
‘कांग्रेसलाई बदल्न र आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न जरूरी छ, म त्यसमै समर्पित हुन चाहन्छु,’ उनले भने।
यो पनि: फागुन २१ को चुनावमा उम्मेदवारी नदिने विश्वप्रकाश शर्माको घोषणा