नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति मंगलबार घोषणा हुँदैछ।
कात्तिक १९ गते नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकहरूबीच एकता भएर गठन भएको नेकपामा अहिले १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्।
यो पार्टीमा वामदेव गौतम, भीम रावल, राजेन्द्र श्रेष्ठदेखि नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठसम्म समाहित भएको छ।
आइतबार मात्रै मनिष लिम्बू नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा उपाध्यक्ष शिवलाल थापाको समूह नेकपामा समाहित भएका थिए।
दर्जन बढी दलहरू मिलेर बनेको पार्टीको केन्द्रीय समिति मंगलबार घोषणा हुँदैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो साढे १ बजे केन्द्रीय सदस्य घोषणा हुनेछ।
केन्द्रीय सदस्यहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ ग्रहण गराउनेछन्।
आइतबार घोषणा हुने केन्द्रीय समिति झन्डै २५ सय आकारको हुने नेकपाको उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिंखडाले जानकारी दिए।
'२४९९ जना केन्द्रीय सदस्य घोषणा हुने हो। आज घोषणा हुने केन्द्रीय सदस्यहरू महाधिवेशन आयोजक कमिटी सदस्यका रूपमा हुनेछन्,' उनले सेतोपाटीसँग भने।
कात्तिक १९ गते पार्टी एकता घोषणा हुँदा ६ महिनाभित्र महाधिवेशन गर्ने र केन्द्रीय कमिटीको आकार १९९ सदस्यीय बनाउने सहमति थियो।
' केन्द्रीय कमिटीको आकार पछि १९९ सदस्यीय नै रहनेछ। अहिलेका घोषणा हुने महाधिवेशन आयोजक कमिटी सदस्यका रूपमा रहनेछन्,' सिंखडाले भने।
उनका अनुसार केन्द्रीय समितिमा पूर्वमाओवादी केन्द्रबाट ६० प्रतिशत सदस्यहरू समावेश गरिएको छ। बाँकी ४० प्रतिशत एकीकृत समाजवादीसहित अन्य दलहरूबाट छानिएको उनले बताए।
पूर्वमाओवादी केन्द्रबाट करिब २०० भन्दा बढी केन्द्रीय सदस्यको टुंगो लाग्नै बाँकी रहेकाले मंगलबार सबैको शपग नहुने पनि सिंखडाले बताए।
'झन्डै साढे २२ सय जना केन्द्रीय सदस्यहरूले आज शपथ लिनेछन्,' उनले भने।