नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन्।
‘बीमा हामी हुँदा कहीँ बन्द भएको थिएन,’ उनले भने, ‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन।’
काठमाडौं ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यावहारिक सुधार अघि बढाएर कानूनी संशोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिएपछि त्यो प्रक्रिया रोकिएको उनले गुनासो गरे।
‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिति आउँछ,’ उनले भने।
स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोण सहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानून संशोधन हुने कार्यसूचीमा रहेको उनले बताए।
उनले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधा सहित ३ लाखदेखि साढे ७ लाखसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको बताए।
‘हामीले तयार गरेको प्रतिवेदनको आधारमा प्रक्रिया लागू गर्ने हो भने एक वर्षमा १ खर्बसम्म बीमाले आम्दानी गर्छ,’ उनले भने, ‘त्यसो भए चाहिनेलाई ५ लाख दिन कुनै गाह्रो हुने छैन। हामीले कसरी गर्ने, कसलाई दिने सबै तय गरेर छाडेका छौं।’