नेपाली कांग्रेसले घोषणा पत्र लेखनका लागि सभापति गगन थापा संयोजकत्वमा समिति बनाएको छ।
उक्त समितिले घोषणा पत्र लेखनको कामलाई अन्तिम रूप दिने तयारी गरिरहेको प्रवक्ता देवराज चालिसेको भनाइ छ।
केही पार्टीहरूले घोषणा पत्र/प्रतिबद्धता पत्र जारी गरिसकेको अवस्था छ। निर्वाचन आयोगले पनि फागुन ३ गतेभित्र घोषणा पत्र ल्याउन दलहरूलाई आग्रह गरिसकेको छ।
कांग्रेस प्रवक्ता चालिसेलाई हामीले घोषणा पत्र कहिले आउँछ भनेर सोधेका छौं।
जबाफमा उनले भने, ‘हामी प्रतिज्ञा पत्रलाई अन्तिम रूप दिँदैछौं। ढिलोमा पनि फागुन २ गतेभित्र सार्वजनिक गर्छौं।’
उनकाअनुसार पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर कांग्रेसले प्रतिज्ञा पत्र तयार गर्दैछ।
मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर प्रतिज्ञा पत्र तयार गरिने उनले बताए।
'पार्टी एक रहेको सन्देश दिने'
कांग्रेसले पार्टी एक रहेको सन्देश दिने भएको छ।
त्यसका लागि निवर्तमान सभापति शेरबहादुर देउवाको वक्तव्य ल्याउने प्रयासमा नेताहरू छन्।
प्रवक्ता चालिसेले पनि भावनात्मक रूपमा अपिल गर्ने भन्ने कुरा भइरहेको जानकारी दिए।
‘निवर्तमान सभापतिज्यूसँग कुराकानी गर्न सबै सकारात्मक छौं, दुई चार दिनदेखि प्रयास पनि भइरहेको छ, कम्तीमा एक अपिल जारी गरेर जानेबारे कुरा भइरहेको छ,’ उनले भने।
फागुन २१ को निर्वाचनका लागि निवर्तमान सभापति देउवानिकट नेताहरूले पनि टिकट पाएका छन्। पहिले देउवानिकट रहेका ती नेताहरूले देउवालाई चुनावी प्रचारमा लैजान चाहेका छन्।
निवर्तमान सभापति देउवा पक्षको असहमतिबीच विशेष महाधिवेशन भएर नयाँ कार्यसमिति आएको थियो।
'रवि-बालेन रहरले गठबन्धन गरेका होइनन्'
प्रवक्ता चालिसेले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबारे पनि टिप्पणी गरेका थिए।
उनले रवि र बालेन रहरले एकता नगरेको भन्दै 'कसैले गराइएको गठबन्धन हो' भन्ने टिप्पणी गरेका हुन्। सहकारी ठगी प्रकरणमा सभापति लामिछाने मुछिएपछि उक्त पार्टीले बालेनलाई ल्याएको उनको भनाइ थियो।
काठमाडौं महानगरका निवर्तमान मेयर शाहलाई रास्वपाले वरिष्ठ नेता बनाउँदै प्रधानमन्त्री उम्मेदवारसमेत बनाएको छ।