नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न आग्रह गरेका छन् ।
बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा सभापति देउवाले त्यस्तो निर्देशन दिएको मुख्यमन्त्रीका शाहका प्रेस संयोजक डम्मर बमले जानकारी दिए।
भेटका क्रममा देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता–कार्यकर्ता पूर्ण रूपमा समर्पित हुन आग्रह गरेको प्रेस संयोजक बमले जानकारी दिए ।
‘स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता हो र त्यसमा कांग्रेसलाई विजय बनाउन भूमिका इमान्दारिताका साथ निर्वाह गर्नू,’ देउवाले मुख्यमन्त्री शाहलाई भने।
त्यस क्रममा देउवा पत्नि तथा पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग पनि भेट भएको थियो। भेटका क्रममा देउवा दम्पतीले मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका थिए।