राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत कास्की पुगेर तारेख बुझेका छन्।
अदालतमा विचाराधीन सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्धामा लामिछानेले तारेख बुझेका हुन्।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी रामबहादुर किसानका अनुसार लामिछानेले विहीबार विहान तारेख बुझेका हुन्।
लामिछानेलाई पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ। सहकारीमा सर्वसाधारणले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर ग्यालेक्सी टेलिभिजन चलाएको भन्दै उनीविरुद्ध सहकारी पीडितले जाहेरी दिएका थिए।
तारेख बुझेर लामिछाने चुनावी प्रचारका क्रममा स्याङ्जा गएका छन्।
उनी स्याङ्जाका विभिन्न स्थानमा ‘घण्टी अभिवादन’ कार्यक्रममा सरिक हुने रास्वपाका कार्यकर्ताहरुले बताएका छन्। चुनावी अभियानमा बुधबार पोखरा आएका लामिछाने आज अदालतमा तारेख बुझेर स्याङ्जा लागेका हुन्।
सहकारी पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहित ६३ जनालाई विपक्षी बनाएर १ अर्ब ५१ करोड रूपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचाराधीन छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रविलाई कास्की प्रहरीले ८४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै रविलाई धरौटीमा छाडेको थियो। त्यति बेला रविले अदालतमा ६५ लाख रूपैयाँ धरौटी राखेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार रूपैयाँ बिगो दाबी गरेको छ। यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो दाबी गरेको छ।
सहकारीका संचालक एवं गोर्खा मिडिया प्रालिका अध्यक्ष जिबी राई भने अझै फरार छन्।