ललितपुरको गोदावरी नगरपालिका कार्यपालिका सदस्य बिना नगरकोटीसहित नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
गोदावरी नगरपालिका वडा नम्बर २ विशंखुनारायणमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार उदयशमशेर राणाले माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा दलित वडा सदस्य उम्मेदवार निता बिसुङ्खे, विशंखु नारायण खानेपानीका अध्यक्ष राजन विष्ट र स्थानीय समाजसेवी दिनेश विष्ट रहेका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार उदयशमशेर राणाले गोदावरीका विभिन्न वडाहरूबाट जनप्रतिनिधि र स्थापित नेताहरू नै कांग्रेसमा आएकाले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे।
कार्यक्रममा बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले देशैभरि कांग्रेस प्रवेशको लहर चलेकाले कांग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने धारणा व्यक्त गरे।
पार्टी प्रवेश गर्ने अधिकांश युवाहरूले कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफूहरू समाहित भएको बताएका छन्।