कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताए।
उनले सामाजिक सञ्जालबाट गलत, भ्रामक र हानिकारक सूचना फैल्याएर निर्वाचन बिथोल्न खोज्ने प्रयास पनि भइरहेकाले सामुदायिक रेडियोहरूले जागरण एवं चेतना फैल्याउनुपर्नेमा जोड दिए।
'सामाजिक सञ्जालबाट प्रवाह हुने गलत, भ्रामक र हानिकारक सूचना रोक्न टिकटकसँग समझदारी भइसकेको छ, मेटासँग पनि सम्झौता हुने क्रममा छ। यस्ता सूचनाको सत्यतथ्य के हो भन्ने परीक्षण गर्न देशभित्रका अन्य मिडियासँग पनि सम्झौता भएको छ,' कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने।