बुटवलका उद्योगी तथा व्यवसायीहरूले बुटवलको आर्थिक भविष्य र व्यावसायिक सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै यस क्षेत्रलाई मुलुककै प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग शुक्रबार साँझ भएको अन्तरक्रियामा व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्।
बुटवलको ऐतिहासिक साख जोगाउन पुरानो बजार क्षेत्रलाई गुलजार बनाउँदै पुनर्जीवन दिनुपर्नेमा व्यवसायीहरूको विशेष जोड थियो।
उनीहरूले अमरपथ, हाटबजार लाइन लगायतका मुख्य व्यापारिक क्षेत्रलाई व्यवस्थित बनाउन र लगानीमैत्री नीति निर्माण गर्न पौडेलको ध्यानाकर्षण गराए।
करिब २०० व्यवसायी सहभागी कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा नियमित सञ्चालन गरी अन्तर्राष्ट्रिय व्यापारिक ढोका खोल्न माग गरिएको थियो।
नेपाल–भारत खुला सिमानालाई व्यवस्थित गरी अनधिकृत आयात रोक्न, स्वदेशी उद्योगको संरक्षण गर्न, बुटवलको बढ्दो पार्किङ समस्या समाधान गर्न तथा कर प्रणालीमा सरलीकरण गर्न उद्योगी व्यवसायीहरूले आग्रह गरे।
व्यवसायी अनिलमान श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउन भैरहवाबाट नियमित रूपमा हङकङ र दिल्ली उडान गराउनुपर्ने बताए।
टुर्स एन्ड ट्राभल्स व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले पछिल्लो समय बैंक, अस्पताल, स्कुल, कलेज तथा विभिन्न एप्स सञ्चालकहरूले समेत टिकट काट्ने गर्दा टुर्स एन्ड ट्राभल्स व्यवसाय बन्द हुने अवस्थामा पुगेको गुनासो गरे।
कृष्णकुमार श्रेष्ठले बुटवलका मुख्य–मुख्य बजार क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सके सुक्दै गएको बजार गुलजार बन्ने भन्दै त्यसका लागि प्रहरी प्रशासनले सुरक्षा दिनुपर्ने बताए।
अर्का व्यवसायी महेन्द्र श्रेष्ठले नजिकै रहेको सुनौलीको व्यापार बाह्रै महिना चलायमान हुँदा बुटवल सुनसान हुने गरेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए।
अन्य व्यवसायीहरू तेजरत्न बज्राचार्य, विक्रमकुमार राजभण्डारी, शिशिर पौडेल, लक्ष्मी भट्टराई लगायतले घरेलु तथा स्थानीय उत्पादनको बजारीकरण गर्न सके धेरै युवालाई रोजगारीको अवसर सिर्जना हुने धारणा राखे।
व्यवसायी अजयमान श्रेष्ठले संयोजन गरेको उक्त छलफलमा व्यवसायीहरूका सुझाव र गुनासो सुनिसकेपछि पूर्व अर्थमन्त्री पौडेलले बुटवल र समग्र रुपन्देहीको समृद्धिका लागि आफू निजी क्षेत्रसँग काँधमा काँध मिलाएर हिँड्न तयार रहेको बताए।
उनले बुटवललाई आधुनिक र व्यवस्थित सहर बनाउन केही रणनीतिक योजनाहरू समेत अगाडि बढाइएको जानकारी दिए।
'बुटवलको पार्किङ समस्या समाधान गर्न अन्डरग्राउन्ड पार्किङ सहितको बहुतले भवन निर्माण गर्ने र तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाएर बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने मेरो संकल्प छ,' पौडेलले भने।
उनले बुटवल र सैनामैनाको सिमाना कर्साघाटमा मुलुककै ठुलो कृषि उपज तथा थोक बजार केन्द्र स्थापना गर्ने योजना सुनाउँदै यसले स्वदेशी उत्पादनको प्रवर्द्धन र निर्यातमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
आफू अर्थमन्त्री रहँदा धेरै सुधारका प्रयास गरे पनि राजनीतिक अस्थिरता र बारम्बारको सरकार परिवर्तनका कारण केही योजनाले पूर्णता पाउन नसकेको उनले बताए।
'मुलुकको आर्थिक संकट टार्न र लगानीकर्ताको मनोबल उच्च बनाउन बलियो र स्थायी सरकार अनिवार्य छ। तर एउटा सरकारले नीति बनाएर कार्यान्वयनमा लैजान नपाउँदै सरकार ढालेर अर्को बनाउने प्रवृत्तिका कारण बनाइएका नीतिहरू कार्यान्वयनमा जान सकेनन्,' उनले भने।
कार्यक्रममा नेकपा एमालेका समानुपातिक उम्मेदवार एवं उद्योगी एजाज आलमले रूपन्देहीको विकासको नेतृत्व पौडेलले नै गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई गोलबद्ध हुन आह्वान गरे।
विगतका चार वटा निर्वाचनमा विजयी गराएका बुटवलवासीले यस पटक पनि विकास र समृद्धिका लागि पौडेललाई नै साथ दिनुपर्ने उनको आग्रह थियो।