जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
शनिबार सर्लाहीमा कांग्रेसले आयोजना गरेको कार्यक्रमबीच जसपाका केन्द्रीय नेताहरू मनिष मिश्र र केदारनन्दन चौधरी पार्टी प्रवेश गरेका हुन्।
उनीहरूसँगै थुप्रै जसपा नेता कार्यकर्ता कांग्रेसमा समहित भएका छन्।
केहीअघिमात्रै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकता भएको थियो।
मिश्र लोसपाका पूर्वमहासचिव पनि हुन्। एकतापछि बनेको जसपाको केन्द्रीय समन्वय समितिमा पनि उनी सदस्य छन्।
चौधरी पनि लोसपाकै पूर्व नेता हुन्। एकतापछि बनेको केन्द्रीय समन्वय समितिमा भने उनी नरहेको जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
नवप्रवेशीहरूलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक मूल्य, समावेशी सोच र विकासको साझा लक्ष्यले विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरूलाई एउटै धारमा उभ्याएको बताए।
'देशलाई स्थिरता, सुशासन र परिणाममुखी विकास चाहिएको छ। त्यसका लागि विचार मिल्ने सबै शक्ति एउटै यात्रामा अघि बढ्नु आवश्यक छ,' उनले भने।