इरानी हमलामा मारिएको हल्ला चलेपछि इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रत्यक्ष भिडिओ सन्देश नै जारी गरेका छन्।
इरानकै सरकारी सञ्चारमाध्यमहरुले इसराइली प्रधानमन्त्री नेतन्याहू मारिएको वा घाइते भएको भनेर हल्ला चलाएपछि आइतबार उनले भिडिओ सन्देश सार्वजनिक गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहूले आफ्नो टेलिग्राम खातामार्फत भिडिओ सार्वजनिक गरेका हुन्।
भिडिओमा उनी जेरुसलेमको बाहिरी क्षेत्रमा रहेको एउटा क्याफेमा कफी पिउँदै आफ्ना सहयोगीसँग कुराकानी गरिरहेको देखिन्छ।
भिडिओमा उनका सहयोगीले सामाजिक सञ्जाल र इरानी सञ्चारमाध्यममा फैलिएको हल्लाबारे सोधेका छन्।
कफी पिउँदै गरेका नेतन्याहूले हिब्रु भाषामा मर्नु भनको धेरै मन पराउनु त्यसप्रति अति आकर्षित हुनु भन्ने अर्थ पनि लाग्ने भनेर व्यंग्यात्मक शैलीमा जबाफ दिए।
'म कफीका लागि पागलजस्तै छु। म आफ्ना जनताप्रति पनि त्यत्तिकै समर्पित छु,' उनले भनेका छन्।
अमेरिका र इसराइलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेपछि नेतेन्याहू इरानी मिसाइलले प्रभावित कम्तीमा दुई सहर, अस्पताल, बन्दरगाह र केही सैन्य आधारस्थलको भ्रमण गरिसकेका छन्।
तर ती भ्रमणहरूमा सञ्चारमाध्यमको पहुँच निकै सीमित रहेको र प्रायः भिडिओहरू प्रधानमन्त्री कार्यालयले नै सार्वजनिक गर्ने गरेको बताइएको छ।
युद्ध सुरु भएयता नेतेन्याहूले अन्तर्वार्ता वा प्रत्यक्ष पत्रकार सम्मेलन अत्यन्त कम गरेका छन्। युद्ध सुरु भएपछिको पहिलो पत्रकार सम्मेलन नै उनले गत बिहीबार गरेका थिए।
इरानसँगको युद्ध सुरु भएपछि इसराइलमा आपतकालीन सुरक्षा नियम लागू गरिएको छ।
सार्वजनिक भेला गर्न प्रतिबन्ध लगाइएको छ भने अधिकांश मानिसलाई घरमै बस्न वा सुरक्षित आश्रयस्थल नजिक रहन निर्देशन दिइएको छ।
देशका अधिकांश विद्यालयहरू पनि बन्द रहेका छन्।