राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्की विरूद्ध एक नाइजेरियन महिलाले गर्भवती बनाएर अलपत्र छाडेको भन्दै लगाएको आरोपबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ।
नेपाली कांग्रेसकी सांसद निनुकमारी कर्णले 'एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा र सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेको' विषय संसदमा उठाएकी हुन्।
'एउटा विदेशी नागरिक महिलालाई प्रेम जालमा फसाउने, भावनात्मक ब्याकमेल र जालझेलमा फसाएर अलपत्र पार्ने माननीयले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ?,' कर्णले प्रतिनिधि सभा बैठकमा भनिन्, 'यो घटनाले प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको छ। यदि यो घटना सही हो भने नैतिकताको प्रश्न नभई विश्वसनीयतासँग जोडिएको प्रश्न हो। पीडित महिलाले न्याय पाउनुपर्छ। दोषी भए कारबाही हुनुपर्छ। सभामुखमार्फत् सरकारलाई सत्यतथ्य जानकारी गराउन माग गर्दछु।'
जनआस्था पत्रिकाले रास्वपा सांसद कार्कीले एक नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको समाचार प्रकाशित गरेको थियो।
पीडित महिलाले सांसद कार्कीसँग लिभिङ टुगेदरमा बसेको गर्भ बसेपछि बेवास्ता गरेको बताएकी छिन्। पत्रिकाले दुईबीच सम्बन्ध देखिने कागजातहरू समेत प्रकाशित गरेको थियो।
प्रतिनिधि सभामा बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले पनि सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेकी छन्।
'एक जना सत्तापक्षका सांसदले नाइजेरियाली एक जना नागरिकलाई गर्भवती बनाएर माननीयजी बेपत्ता भएको कुरा यत्रतत्र सर्वत्र छ,' विकले बैठकमा भनिन्, 'यो कुराले असाध्यै पीडादायी अवस्था सृजना गरेको छ। विदेशीहरूले हामीलाई कसरी हेर्छन्? कुन ढंगले बुझ्छन्?,' विकले प्रश्न गरिन्, 'हामी सबै काँचको सिसाभित्र छौँ। सबैले हेरिराखेका छन्। मैले सम्मानीय सभामुखसँग जान्न चाहन्छु। यदि हावाका भरमा कुरा गरिएको हो भने राष्ट्रियताका लागि सह्य हुँदैन। यदि यथार्थ हो भने सम्बन्धित माननीयलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।'
त्यस्तै नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले पनि सांसदको आचरण सम्बन्धी प्रश्न उठाइन्।
'मोरङ २ का सांसद कृष्ण कार्कीले नाइजेरियाको महिलालाई गर्भवती बनाएर अलपत्र बनाएको समाचार आएको छ,' सिद्धिकीले भनिन्, 'राष्ट्रिय मात्र होइन। अन्तर्राष्ट्रिय समाचार पनि आइसकेको छ। म आफै मानव अधिकारसँग सम्बन्धित विषयमा २५ वर्ष काम गरेँ। मलाई नै १० वटा फोन आइसक्यो।'
उनले एउटा सांसदका कारण सबै नै जवाफदेहिताका लागि उभिनु परेको बताइन्।
घटना सार्वजनिक भएयता सांसद कार्की प्रतिनिधि सभा बैठकमा सहभागी भएका छैनन्। उनी सोमबारको बैठकमा सभामुखले पटक पटक नाम बोलाउँदा समेत अनुपस्थित भएका थिए।
सभामुख डोलप्रसाद अर्यालले घटनाबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।