संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका प्रधान न्यायाधीश मनोजकुमार शर्माले आजै शपथ लिने भएका छन्।
लगत्तै उनले कार्यभार सम्हाल्नेछन्।
मंगलबार दिउँसो समितिबाट अनुमोदन भएपछि साँझ ६:१० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार पदभार पनि आजै हुनेछ।
‘नवनियुक्त प्रधान न्यायाधीशको शपथ ग्रहणको कार्यक्रम आज बेलुका ६:१० बजे हुने र आजै पदभार ग्रहण हुनेछ,’ उनले भने।
संसदीय सुनुवाइले शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको हो। प्रतिपक्षी दलका सांसदहरूले हतारोमा सुनुवाइ गर्न नहुने भनेर मंगलबार बिहान थप समयको माग गरेका थिए।
तर त्यसका बावजुद पनि सुनुवाइको प्रक्रिया अघि बढेको हो। सुनुवाइको क्रममा १६ जनाको उजुरी पढ्ने, उजुरीकर्ताका कुरा सुन्ने, प्रस्तावित प्राधन न्यायाधीश मनोजकुमार शर्माको कार्ययोजना सुन्ने र प्रश्नउत्तरको काम आजै सम्पन्न भएको हो।