सरकारले ७९.३६ मिलियन चिनियाँ युयान अर्थात् करिब १ अर्ब ८० करोड बराबर नेपाली रूपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अरनिको राजमार्ग मर्मत गर्न उक्त सहयोग रकम स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
२०७२ को भूकम्पमा अरनिको राजमार्ग ठाउँठाउँमा क्षतविक्षत भएको थियो। त्यसयता राजमार्गको पूरै भाग स्तरोन्नति हुन सकेको छैन।
उक्त राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकारले चीन सरकारसँग सहयोगको प्रस्ताव राख्दै आएको थियो।
यो राजमार्ग सन् १९६० मा चीन सरकारकै आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण भएको हो।