नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह शासकीय प्रणाली विपरीत प्रत्यक्ष शासन संचालन गर्न उद्यत रहेको बताएका छन्।
दाङको तुलसीपुरमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकको शासन प्रणाली संसदीय लोकतन्त्रको भए पनि प्रधानमन्त्री शाहको अभ्यास अमेरिकाको जस्तो प्रत्यक्ष राष्ट्रपतिको जस्तो देखिएको बताएका हुन।
लोकतन्त्र भनेको जनता प्रति जबाफदेहीताको शासन व्यवस्था हुने र संसदीय लोकतन्त्र भनेको संसदप्रति प्रधानमन्त्री जबाफदेही हुने प्रणाली हुने भन्दै उनले चुनाव पछि दुई वटा संसद अधिवेशन बसिसकेको भए पनि दुवै अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगरी सकिएको बताएका हुन्।
‘अर्थात संसदप्रति प्रधानमन्त्रीको जबाफदेहीता छैन। यति सम्मकी आफ्नै नीति कार्यक्रम वाचन भइरहँदा, सम्माननीय राष्ट्रपतिले नीति कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्रीलाई संसदमा बस्नु पर्ने आवश्यकता पनि महसुस हुँदैन। र त्यसमा पश्चाताप बोध पनि हुँदैन। प्रधानमन्त्रीलाई पनि हुँदैन प्रधानमन्त्रीको पार्टीलाई पनि हुँदैन,’ पोखरेलले भने ‘हामी के साँच्चै संसदीय लोकतन्त्रको बाटोमा हिडिरहेका छौं त? हिडिरहेका छैनौं।’
संसदीय लोकतन्त्रको विशेषता सरकार अविछिन्नन अधिकार संस्थाको रुपमा मान्ने गरिने भए पनि तर यो सरकारले अध्यादेशका माध्यमबाट पुरानो सरकारले गरेका सबै नियुक्तिहरूलाई बदर गर्ने काम गर्दै आएको भन्दै महासचिव पोखरेलले त्यसको विरोध गरे।
‘यो संसदीय लोकतन्त्रको दुनियाँमा काहीँ हुँदैन,’ उनले भने ‘ प्रणाली संसदीय लोकतन्त्रको अभ्यास कार्यकारी राष्ट्रपतिको अमेरिकी मोडेलको। यो संगति मुलक हो त ? यो लोकतान्त्रिक हो त ?’
प्रधानमन्त्री बालेनको यस्तो शैलीले भविष्यमा गलत परम्पराको सुरुवात गर्ने उनले चिन्ता व्यक्त गरे।
‘अहिले त एउटा दलको बहुमतको सरकार छ,’ उनले भने ‘ भविष्यमा हङ पार्लियामेन्ट भयो र ६–६ महिनामा ९–९ महिनामा सरकार बदलिन थाल्यो भने र यसै गरी राजनीतिक नियुक्तहरु बदर हुन थाल्यो भने मुलुकको हालत के होला?’