प्रतिपक्षी दलहरूको विरोधबीच सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्। विरोधबीच नै सभामुख अर्यालले बैठक सञ्चालन गर्न थालेपछि प्रतिपक्षी दलहरूले वेल घेराउ गरेका छन्।
यसअघि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीलाई प्रश्नोत्तरको निम्ति संसद बैठकमा उपस्थित गराउन माग गर्दै बिहीबार अवरोध गरेका थिए।
अवरोधपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरी प्रधानमन्त्री बालेन शाहसँग भेट्न गएका थिए। तर प्रधानमन्त्री शाहले प्रश्नोत्तरका लागि इन्कार गरेको र पछि कुनै बेला आउने जबाफ फर्काएका थिए।
भेटमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा भएको बाध्यात्मक व्यवस्था देखाउँदै प्रधानमन्त्री शाहलाई संसदमा प्रश्नोत्तरका लागि समय निर्धारण गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री शाहलाई सभामुख अर्यालले अर्को साताको कुनै दिन बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए।
तर शाहले प्रश्नोत्तरका लागि आगामी साताको समय दिन इन्कार गरिदिएको एक सांसदले जानकारी दिए।
प्रधानमन्त्रीसँगको छलफलबारे सभामुख अर्यालले कार्य व्यवस्था परामर्श समितिमा भएका सांसदहरूलाई जानकारी दिएका थिए। यस्तो समितिमा दलका प्रमुख सचेतक र सचेतकहरू रहन्छन्। कानुनमन्त्री पदेन सदस्य हुन्छन्।
'सभामुखले प्रधानमन्त्रीसँगको कुराकानीबारे बताउनुभयो,' एक सांसदले सेतोपाटीसँग भने, 'प्रधानमन्त्रीले अर्को कुनै उपयुक्त समयमा आएर जबाफ दिन्छु भन्नुभएछ।'