नेकपा एमालेका नेता ईश्वर पोखरेलले आत्मसमीक्षा र पुनर्गठनबाट मात्रै पार्टी अगाडि बढ्न सक्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पोखरेलले आत्मसमीक्षा र पुनर्गठन रोक्न खोज्नुलाई अधोगति निम्त्याउनु रहेको बताएका छन्।
‘यतिबेला नेकपा (एमाले) आत्मसमीक्षा र पुनर्गठनको बाटो बाट मात्र अगाडि बढ्न सक्छ ! जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो,’ उनले भनेका छन्।
शुक्रबारदेखि सुरू भएको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टी पुनर्गठनको विषय उठाएका छन्।
अध्यक्ष ओलीले भने पार्टी नेतृत्व संकटमा परेको बेलामा पुनर्गठनको अभियान चलाएको भनेर ओलीले आक्रोश पोखेका थिए। त्यस्ता अभियान चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि सचिवालयका अरू नेताहरूले प्रतिवाद गरेका थिए।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ र ओलीबीच त भनाभन नै भयो।
'एमाले तपाईंले मात्रै बनाएको पार्टी हो? एमाले तपाईंको प्राइभेट कम्पनी हो? यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन, अरू साथीहरूको पनि छैन? कसलाई दिनुभएको धम्की' भन्दै उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका दिए।
ओलीको भनाइमा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले मात्रै समर्थन गरेका थिए।
नेता पोखरेलले यो विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राखेको हुन्। उनी गत महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेर पराजित भएका थिए।