गत वर्ष भारतसँग भएको युद्धका क्रममा पाकिस्तानलाई चीनले प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ।
पहलगाममा आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा हमला गरेको थियो।
पाकिस्तानले जबाफी हमला गर्दा चिनियाँ इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकू विमान परिचालनमा सहयोग गरेको खुलासा भएको हो।
चीनको सरकारी सञ्चार संस्था साउथ चाइना मर्निङ पोस्टका अनुसार ती इन्जिनियरहरूले सिसिटिभीसँग अन्तर्वार्ताका क्रममा उक्त खुलासा गरेका हुन्।
चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसन अन्तर्गतको चेंग्दु एयरक्राफ्ट डिजाइन एण्ड रिसर्च इन्स्टिच्युटका इन्जिनियर झाङ हेङले पाकिस्तानमा युद्धकै बेला प्रत्यक्ष प्राविधिक सहयोग गरेको पुष्टि गरेका छन्।
'हामीले सपोर्ट बेसमा लगातार लडाकु विमान उडानको आवाज र हवाई हमलाको सायरन सुन्थ्यौँ। त्यो अवस्था मानसिक र शारीरिक रूपमा निकै कठिन थियो,' उनले भनेका छन्।
युद्धको बेला सैन्य उपकरणहरू पूर्ण क्षमतामा सञ्चालन हुने सुनिश्चित गर्न आफूहरू फिल्डमै खटिएको उनले बताएका हुन्।
अर्का इन्जिनियर जू दाले जे-१० सीई लडाकु विमानले अपेक्षा गरे अनुसारकै परिणाम दिएको बताएका छन्।
'हामीले यसलाई तयार गर्यौँ र प्रयोगकर्तालाई बुझायौँ। त्यो ठूलो परीक्षणमा ओर्लियो,' उनले भने, 'परिणाम हामीलाई अचम्म लागेन, त्यो अपेक्षित नै थियो।'
यो खुलासासँगै गत वर्ष काश्मिर क्षेत्रलाई लिएर भएको चार दिने भारत–पाकिस्तान झडपमा चीनको भूमिकाबारे गम्भीर बहस सुरु भएको छ।
उक्त संघर्षमा पाकिस्तानले प्रयोग गरेको चिनियाँ निर्मित जे-१० सीई लडाकु विमानले भारतको फ्रान्सेली निर्मित रफाल विमान खसालेको दाबीसमेत गरिएको छ।
चीनको सरकारी स्वामित्वमा रहेको एभिएसन कर्पोरेसन अफ चाइना (एभिक)ले विकास विकास गरेको जे-१० श्रृंखलाको यो निर्यात संस्करण उन्नत लडाकु विमान मानिन्छ।
युद्धका क्रममा पाकिस्तानले भारतका पाँच वटा लडाकू विमान खसालेको दाबी गरेको थियो।
ती पाँचमध्ये तीन वटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग-२९ र अर्को रूसमै बनेको सुखोइ सु-३० भएको पाकिस्तानले दाबी गरेको थियो।
पाकिस्तानले दाबी गरेको जस्तो तीन वटा रफाल खसालेको भनेर अहिलेसम्म स्वतन्त्र पुष्टि भएको छैन। तर पाकिस्तानले घटीमा एउटा रफाल भने खसालेको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्।
रफालको कमजोरीका कारण नभएर चिनियाँ मिसाइलको क्षमताबारे भारतसँग सही खुफिया सूचना नभएकाले सो विमान खसालिएको भनेर केही अघि सार्वजनिक रिपोर्टहरूमा उल्लेख छ।
जे-१० सी लडाकू विमानबाट चीनमै बनेको पिएल-१५ मिसाइल प्रयोग गरेर पाकिस्तानले रफालसहित भारतीय लडाकू विमान खसालेको मानिन्छ।
रोयटर्ससँग कुरा गरेका भारतीय अधिकारीहरूका अनुसार पिएल-१५ मिसाइलले १५० किलोमिटरसम्म मात्र प्रहार गर्न सक्छ भन्ने भारतसँग सूचना थियो।
त्यसैले पाकिस्तानसँग भएका हतियारको पहुँचभन्दा बाहिर भएको भनेर भारतीय पाइलटहरू ढुक्क भएर बसेका थिए। तर पाकिस्तानले करिब २०० किलोमिटर टाढाबाट पिएल-१५ मिसाइल प्रहार गरेर रफाल खसालेको पाकिस्तानी अधिकारीहरूले रोयटर्सलाई बताएका छन्।
रफाल भारतसँग भएको सबभन्दा आधुनिक र शक्तिशाली लडाकू विमान हो। पाकिस्तानसँग हवाई युद्ध गर्न भारतले रफाल विमानबाट युरोपमा बनेको 'एमबिडिए मिटियोर मिसाइल' प्रयोग गरेको मानिन्छ।
अर्कोतिर, पाकिस्तानसँग भएको सबभन्दा आधुनिक र शक्तिशाली लडाकू विमान चीनमा बनेको जे-१० सी हो। यो विमानबाट चीनमै बनेको 'पिएल-१५ मिसाइल' प्रयोग गरेर पाकिस्तानले रफालसहित भारतीय लडाकू विमान खसालेको मानिन्छ।
आधुनिक मिटियोर मिसाइल बोकेको रफाललाई पश्चिमा देशमा बनेको सबभन्दा शक्तिशाली लडाकू विमानमध्ये एक मानिन्छ। अहिले यसको टक्कर चिनियाँ पिएल-१५ मिसाइल बोकेको जे-१० सीसँग भइरहेको छ।
पाकिस्तानको दाबी साँचो हो भने युद्धमा रफाल लडाकू विमान खसालिएको यो पहिलो पटक हो।
अर्कोतर्फ, चीनमा निर्मित जे-१० सीले रफाल वा अरू कुनै भारतीय लडाकू विमानको सिकार गरेको पनि पहिलोपटक नै हो।
भारतले आधिकारिक रूपमा आफ्ना लडाकू विमान खसालेको बारेमा बोलेको छैन। तर भारतीय सेनाका विभिन्न अधिकारीहरूले आफ्ना विमान खसालिएको भनेर अलग-अलग समयमा स्वीकार गरेका छन्। यद्यपि, कति वटा र कुन विमान खसालिएको भनेर चाहिँ खुलासा गरेका छैनन्।