लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन्।
बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने तयारी अन्तर्गत मन्त्रीहरू परिवर्तन गरिएको बताइएको छ।
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मन्त्रालय संख्या घटाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।
सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्य यथावत् रहने र एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ।