पछिल्ला दिनहरूमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्नेहरू ह्वात्तै बढेका छन्।
वैशाख १ गतेदेखि क्रियाशील अद्यावधिक सुरू भए पनि सुरूका दिनमा यसले गति लिन सकेको थिएन।
जेठ २१ गते मध्यरातसम्म मात्रै क्रियाशील सदस्यता अद्यावधिक गर्न मिल्छ।
क्रियाशील अद्यावधिक गर्ने समय नबढाउने पक्षमा कांग्रेस छ।
त्यसैले पछिल्ला दिनहरूमा क्रियाशील अद्यावधिक गराउनेको संख्या वृद्धि हुँदै गएको महामन्त्रीसमेत रहेका सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेलले जानकारी दिए।
‘हिजो करिब ६२ हजार जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेको रेकर्डमा देखिन्छ, आज ४८ हजार बढीले अद्यावधिक गरिसकेका छन्,’ महामन्त्री पौडेलले सेतोपाटीसँग भने, ‘क्रियाशील अद्यावधिक गर्नेको संख्या आज बिहानसम्म ३ लाख नाघिसकेको थियो।’
कांग्रेसमा २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा ८ लाख बढी क्रियाशील सदस्यता कायम भएको थियो।
गत पुससम्म करिब ६ लाख जनाले क्रियाशील नवीकरण गराएका थिए। त्यसबेला नवीकरण गरेकाहरूलाई अहिले थप विवरण माग गरेर अद्यावधिक गरिएको हो।
कांग्रेसले क्रियाशील अद्यावधिक गर्न अटेरी गर्ने वडा सभापतिको विकल्पमा कार्यसमितिकै अर्को व्यक्तिलाई जिम्मेवारी दिएर भए पनि अद्यावधिक काम गरेको थियो।
कांग्रेसले पदाधिकारीहरूलाई प्रदेशगत रूपमा जिम्मेवारी दिएर क्रियाशील अद्यावधिक काम अनुगमनसमेत गर्न खटाएको छ।
विशेष महाधिवेशनमा सहभागी नरहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले १५ औं महाधिवेशनका लागि पहिले नै क्रियाशील नवीकरण गरेको भन्दै अद्यावधिक नगर्न अपिल गरेका थिए।
तर उनीहरूनिकट अधिकांश नेता कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेको पाइएको संस्थापन पक्षले दाबी गरेको छ।