बिपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर पारेर बुधबार कमलादीस्थित प्रज्ञा भवनमा भेला भएको नेपाली कांग्रेसको संस्थापन इतर पक्षले कार्यक्रमको ब्यानरमै 'एकता' शब्द अंकित गरेको थियो। तर कार्यक्रममा बोल्ने बहुसंख्यक वक्ताले 'नयाँ कार्यदिशातिर अघि बढ्ने' बताएर विभाजनको बाटो तय हुने चेतावनी दिएका छन्।
उनीहरूले यसो भनिरहँदा हलमा उपस्थित सहभागीहरूले ताली र होहल्लासहित समर्थन समेत प्रकट गरेका छन्।
संस्थापन इतर पक्षका शीर्ष नेताहरूले साउन २९ अघि सम्मानजनक एकता नभए नयाँ कार्यदिशाको बाटो तय हुने प्रस्ट सन्देश दिएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै शेरबहादुर देउवा र शेखर कोइराला पक्ष पछिल्लो समय एकै ठाउँ उभिँदै आएको छ। त्यही समूहका नेता प्रकाशमान सिंहले आगामी साउन २९ गते राष्ट्रिय भेला हुने घोषणा गरेका छन्।
त्यही भेलाअघि १४औं महाधिवेशनको केन्द्रीय समितिलाई समेटेर १५औं महाधिवेशनमा जाने वातावरण नबने पार्टी फुटको औपचारिक घोषणा हुन सक्ने प्रस्ट सन्देश कमलादी मञ्चबाट नेताहरूले दिएका हुन्।
नेपाली कांग्रेसभित्रको वर्तमान संकटको मुख्य जड गत पुसमा सम्पन्न विशेष महाधिवेशन हो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहमति र बहिष्कारबीच गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएको थियो।
सर्वोच्च अदालत र निर्वाचन आयोगले उक्त विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि कांग्रेसको विवाद तत्कालका लागि साम्य भएको थियो। संस्थापनइतर नेताहरू थापाकै हस्ताक्षरको टिकट लिएर चुनाव लडेका थिए।
तर चुनावलगत्तै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको इतर पक्षले समानान्तर गतिविधि सुरू गरेको थियो। पछिल्लो समय चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अगाडि बढाउँदै आएको समूहले बिपी स्मृति जयन्ती पनि अलग्गै गरेको हो।
बुधबारको संस्थापन इतर पक्षको भेलापछि कांग्रेसभित्र जारी किचलो पहिलो पटक औपचारिक रूपमा 'अल्टिमेटम' मा रूपान्तरित भएको छ।
बुधबार मञ्चबाट औपचारिक रूपमा सबै नेताले 'सम्पूर्ण एकता' को वकालत गरे पनि उनीहरूको अभिव्यक्तिको अन्तर्य एउटै थियो, 'अब निर्णय सभापति गगन थापाले गर्नुपर्छ। यदि साउन २९ सम्म सम्मानजनक एकता भएन भने त्यसपछि कांग्रेसको राजनीति पुरानै लयमा अघि बढ्ने छैन। नयाँ दिशा निश्चित छ।'
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसभित्रको अहिलेको संकट कुनै व्यक्तिगत असन्तुष्टि नभई राजनीतिक वैधता, आत्मसम्मान र संगठनात्मक मर्यादासँग जोडिएको विषय भएको दाबी गरे।
खड्काले कांग्रेसभित्रको विवादको सुरूआत कहाँबाट भयो भन्ने प्रश्न आफै उठाउँदै त्यसको उत्तर पनि दिए।
'कांग्रेसको विवाद कहाँ र केमा छ?' उनले प्रश्न गर्दै भने, 'जब १४औं महाधिवेशनबाट निर्वाचित टिम हटाएर विशेष महाधिवेशनबाट आएका सभापतिको सही चल्ने अवस्था भयो, विवाद त्यहीँबाट सुरू भयो।'
उनले विशेष महाधिवेशनमार्फत ५४ प्रतिशतको बलमा निर्वाचित नेतृत्वले १४औं महाधिवेशनबाट आएको संरचनालाई विस्थापित गरेको आरोप लगाए।
अदालत र निर्वाचन आयोगले त्यसलाई वैधानिकता दिएको भए पनि त्यसले राजनीतिक रूपमा समस्या समाधान नगरेको उनको तर्क थियो।
उनले अहिलेको आवश्यकता ५४ र ४६ प्रतिशतको अंकगणितभन्दा माथि उठेर दुवै पक्षलाई एउटै संरचनामा जोड्ने राजनीतिक निर्णय भएको बताए।
'५४ प्रतिशतले गैरकानुनी रूपमा नेतृत्व हटायो। अदालत र निर्वाचन आयोगले त्यसलाई मान्यता दिए,' खड्काले भने, 'तर त्यसले राजनीतिक समस्या समाधान गरेको छैन। ५४ र ४६ प्रतिशतलाई जोड्ने काम मात्रै सम्पूर्ण एकता हो। यो पदको बार्गेनिङ हो?'
खड्काले आफूहरू कुनै पद वा जिम्मेवारीको सौदाबाजीमा नरहेको दाबी गर्दै अहिलेको संघर्षलाई आत्मसम्मानको लडाइँका रूपमा व्याख्या गरे।
'हामीले पद मागेका होइनौं। हामीलाई पदको भारी छ,' उनले भने, 'तर अहिले राष्ट्रियता सबभन्दा संकटमा परेका बेला त्यसको सामना सम्पूर्ण एकतासहितको कांग्रेसले मात्र गर्न सक्छ। त्यो एकता जसरी हिजो सही चल्ने गिरिजाबाबुले गर्नुभएको थियो, त्यसैगरी अहिले सही चल्ने गगनजीले गर्न सक्नुहुन्छ। उहाँले चाहनुपर्यो।'
यसअघि नेपालका वामपन्थीहरूले धेरै चिन्ता गर्ने र त्यसैका लागि आफूहरूको आवश्यकता हुने भन्दै अघि सार्ने 'राष्ट्रियता' र 'राष्ट्रवाद' को मुद्दालाई खड्काले बुधबार ज्यादै जोड दिएका थिए।
भदौ २४ को दिन चार घन्टामा देश तहसनहस भएको बताउँदै उनले भनेका थिए, 'माओवादी युद्धमा जल्न नसकेको सिंहदरबार, अदालत, शितल निवास चारै घन्टामा कसरी जल्यो? के यो नेपाली मात्रैको सहभागिताले भएको हो? त्यसैले म भन्छु, २०३३ सालमा बिपीले राष्ट्रिय मेलमिलाप भन्नुहुँदाको समयभन्दा अहिले सयौं–सयौं गुणा बढी राष्ट्रियता संकटमा छ।'
उनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समेटेर नेतृत्वलाई पूर्णता दिनुपर्ने प्रस्तावलाई केही नेताले 'बार्गेनिङ' का रूपमा व्याख्या गरेको भन्दै असन्तुष्टि जनाए।
उनका अनुसार त्यो कुनै मोलमोलाइको प्रस्ताव नभई कांग्रेसलाई फेरि एउटै संरचनामा उभ्याउने राजनीतिक समाधानको प्रयास हो।
खड्काले आफूहरू अब निष्क्रिय नबस्ने भन्दै संस्थापन पक्षलाई चेतावनी पनि दिए र भने, 'हामी निष्क्रिय बस्दैनौं। युवाहरूलाई अगाडि सारेर उनीहरूको रक्षाकवच बन्न तयार छौं।'
त्यसपछि उनले पञ्चायतकालको संघर्ष सम्झिए।
'पञ्चायतमा पनि सम्मानका लागि लडेका हौं। अहिले बरू मर्न तयार छौं, तर आत्मसम्मानमा आँच आउन दिन्नौं, स्वाभिमान त्यागेर आत्मसमर्पण गर्दैनौं,' उनले भने।
संस्थापन इतर पक्षकै अर्का नेता शेखर कोइरालाले कांग्रेसभित्रको संकटलाई पार्टीको लोकतान्त्रिक चरित्रमाथिको चुनौतीका रूपमा चित्रित गरे।
उनले पछिल्लो समय कांग्रेसभित्र निर्णय प्रक्रिया संकुचित हुँदै गएको, फरक मत राख्नेहरूमाथि कारबाही बढेको र लोकतान्त्रिक पार्टीभित्रै स्वेच्छाचारी अभ्यास हाबी हुन थालेको आरोप लगाए।
वडा सभापतिहरूमाथि भएको कारबाहीको प्रसंग उठाउँदै उनले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
'नेपाली कांग्रेस अचेल हुकुमी शासनको ढर्रामा चलिरहेको महसुस हुन थालेको छ,' उनले भने, 'निरंकुशता अन्त्यका लागि स्थापना भएको कांग्रेसभित्रै स्वेच्छाचारिता सह्य हुन सक्दैन।'
शेखरले विवाद संगठनात्मक नभई वैचारिक पनि भएको तर्क अघि सारेका छन्। पछिल्लो समय कांग्रेसभित्र उठिरहेको सामाजिक लोकतन्त्रको बहसप्रति उनले स्पष्ट असहमति जनाए। उनीअघि बोलेका विमलेन्द्र निधिले पनि यो विषय उठाएका थिए।
'कांग्रेसको मूल वैचारिक आधार बlपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद हो,' उनले भने।
सभापति गगन थापालाई प्रत्यक्ष सम्बोधन गर्दै शेखरले पार्टीभित्रको अहिलेको गतिरोध अन्त्य गर्ने जिम्मेवारी नेतृत्वकै भएको भन्दै समयमै पहल गर्न आग्रह गरेका थिए।
'यदि कुनै दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईंको हुनेछ,' उनले भने, 'व्यक्तिवादी चरित्र छोड्नुस्। स्वार्थीपन छोड्नुस्। पार्टी एकताका लागि छिटो पहल गर्नुस्।'
अर्का वक्ता नेता विमलेन्द्र निधिले कांग्रेसभित्र पछिल्लो समय तीव्र रूपमा उठिरहेको 'सामाजिक लोकतन्त्र' सम्बन्धी बहसमाथि प्रश्न उठाउँदै बिपी कोइरालाको राजनीतिक दर्शनबाट कांग्रेस विचलित हुन नहुने बताए।
उनले बिपीले प्रतिपादन गरेको 'प्रजातान्त्रिक समाजवाद' नेपाली कांग्रेसको मात्र नभई नेपाली लोकतान्त्रिक आन्दोलनकै दीर्घकालीन वैचारिक आधार भएको उल्लेख गरे।
उनका अनुसार कांग्रेसले नयाँ राजनीतिक प्रतिस्पर्धाको दबाबमा आफ्नो मौलिक विचार परिवर्तन गर्न खोजे त्यसले पार्टीको ऐतिहासिक पहिचान नै कमजोर बनाउनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदाहरण दिँदै उनले भने, 'रास्वपाको चितवन महाधिवेशन अघिसम्म उसलाई विचारविहीन भनिन्थ्यो। त्यो महाधिवेशनबाट उसले सामाजिक लोकतन्त्रको नीति पारित गरेपछि कांग्रेसभित्र प्रतिस्पर्धा सुरू भएको छ।'
'सामाजिक लोकतन्त्रको बहसलाई गगन थापाले अघि सारेको भन्ने शुक्राचार्यहरू देखिन थाले,' उनले भने, 'यदि कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रको एजेन्डा अँगाल्छ भने त्यो प्रगति होइन, वैचारिक पश्चगमन हो।'
निधिको भनाइले कार्यक्रममा उपस्थित कार्यकर्ताबाट पटक पटक ताली पाएको थियो।
उनले अहिलेसम्म भएका घटनाक्रम, नेतृत्वबीचको दूरी र निरन्तर असफल संवादका कारण पार्टी एकताको सम्भावना क्रमशः कमजोर बन्दै गएको बताए।
'तपाईंहरू राष्ट्रिय भेलामा आइदिनुस्। त्यस बेलासम्म एकता भएन भने नयाँ कार्यदिशातिर जानुपर्ने हुन सक्छ। त्यसमा तपाईंहरूको साथ छ?' उनले प्रश्न गरे।
निधिको प्रश्न सकिनासाथ उपस्थित नेता–कार्यकर्ताले 'छ' भन्दै जोडदार ताली बजाएका थिए।
त्यसपछि निधिले फेरि भने, 'अझै जोडले ताली बजाइदिनुस्।'
हल फेरि तालीले गुञ्जिएको थियो।
त्यसो त अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि प्रस्ट रूपमा साउन अन्तिममा हुने राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताएका थिए।
उनले भने, 'यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले एउटा भेला हुन्छ भनेका छौं। त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय हुन्छ। के हो नयाँ कार्यदिशा भन्ने सबैले बुझ्छन्।'