राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गरेका छन्।
उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिएका छन्।
साथै उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए।
राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छलफल गरी सडक यातायात सञ्चालन एवम बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका हुन्।
आफूले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था र बाढीबाट पुगेको क्षति देखेको उल्लेख गर्दै बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गरेका थिए।
मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।
सो अवसरमा मन्त्रीद्वयले दसैंअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिनेगरी दिनरात काम भैरहेको जानकारी दिएका थिए।
यसैगरी मन्त्रीहरूले वैकल्पिक सड़क निर्माण कार्यलाई सरकारले तिब्रता दिएको र लामो लामो बेलीबब्रिजहरूको लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा ती सामाग्रीहरू आउनेक्रममा रहेको र अन्य आवश्यक योजना सरकारले अघि बढाएको जानकारी राष्ट्रपतिलाई गराएका थिए।
