राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले विपदमा परेका नागरिकहरुको घाउमा नुनचुक छर्किने गरी अभिव्यक्ति दिनेहरूलाई पार्टीमा ठाउँ नभएको बताएका छन्।
पार्टी सभापति समेत रहेका लामिछानेले बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै विपदमा रूदै गरेका नागरिकलाई होच्याउनेलाई पार्टीमा ठाउँ नभएको बताएका हुन्।
'विपदमा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,' उनले भने।
उनले पार्टीलाई 'अन्ध समर्थक' नचाहिएको पनि बताए।
'विपदमा रूँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध–समर्थक चाहिएकै छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ,' उनले भने।
उनले कतैबाट त्यस्ता अमानवीय व्यवहार भए निर्मम हुन पनि सरकारलाई आग्रह गरे।
'सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने, त्यसको विरूद्ध 'हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकाल्ने होइन, राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो। देखाउनुहोला,' उनले भने।
नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जबाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको लामिछेनेले बताए।
'यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न पाइयो भने, त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ,' उनले भने।