नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले विनाशकारी बाढीपछि उद्धार कार्य प्रभावकारी हुन नसकेको बताएका छन्।
जनकपुरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा संयोजक प्रचण्डले सुरूवातदेखि नै संवेदनशील भएर काम भएको भए बाढीमा परेका धेरै मानिसहरूलाई बँचाउन सकिने बताएका हुन्।
'शुरुदेखि नै स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोग लिएर व्यवस्थित रूपमा उद्धार गरिएको भए अझ धेरै मानिसको ज्यान बचाउन सकिन्थ्यो। १०–११ दिनपछि पनि मानिसहरू जीवित फेला परेका छन् । यसबाट उद्धारमा भएको कमजोरी स्पष्ट हुन्छ,' उनले भने।
सरकारले यस्तो संवेदनशील अवस्थामा अहंकार राखेर नभई संवेदनशील र जनउत्तरदायी भएर काम गर्नुपर्ने उनले बताए।
उनले अझै पनि बेपत्ताको खोजी, पीडितको राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरे।
उनले रसुवाको बाढी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको गम्भीर असरको उदाहरण भएकाले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिको विषय अझै प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
'बढी कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्छ,' उनले भने।
पहाडमा विपत्ति पर्दा मधेसका जनताहरूले पनि सहायता गर्नुपर्ने बताए।
'पहाडमा पीडा हुँदा मधेसले र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने हाम्रो परम्परालाई अहिले पनि निरन्तरता दिनुपर्छ । यसले राष्ट्रिय एकतालाई थप बलियो बनाउँछ,' उनले भने।