चिनियाँ राष्ट्रपति सी चिनफिङ १२ वर्षपछि पहिलोपटक भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
भारतले आयोजना गरेको १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी शनिबार नयाँ दिल्ली आइपुगेका हुन्।
सीको यो भारत भ्रमण ७ वर्षपछि भएको हो।
उनले पछिल्लोपटक सन् २०१९ मा तमिलनाडुको मामल्लापुरममा भएको भारत–चीन अनौपचारिक शिखर बैठकमा सहभागी हुन भारत भ्रमण गरेका थिए।
भारतको राजधानी नयाँ दिल्लीमा भने उनी १२ वर्षपछि पुगेका हुन्।
सन् २०१४ मा राष्ट्रपतिको पहिलो कार्यकालमा सी नयाँ दिल्ली भ्रमणमा गएका थिए।
उनीसँगै दुई कुटनीतिज्ञहरू काइ क्वी र वाङ यी पनि दिल्ली पुगेका छन्।
७० वर्षीय काई चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य तथा पार्टीको केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक हुन्।
सीका सबैभन्दा नजिकको विश्वासपात्रमध्येका एक रहेका काइ पार्टीको शक्तिशाली संयन्त्रको नेतृत्व गर्छन्।
वाङ यी चीनका विदेशमन्त्री हुन्।
ब्रिक्स सम्मेलनको साइडलाइनमा सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
दुईदिने ब्रिक्स सम्मेलन शनिबार र आइतबार नयाँ दिल्लीस्थित भारत मण्डपममा हुँदैछ।
ब्रिक्स सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार नै नयाँ दिल्ली पुगेका थिए। उनी तीनदिने भारत भ्रमणमा छन्।
युक्रेन युद्ध सुरु भएपछि सन् २०२२ यता रुसबाहिर आयोजना भएको ब्रिक्स सम्मेलनमा पुटिनको यो पहिलो व्यक्तिगत सहभागिता हो।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको प्रतिनिधित्व गर्दै विदेशमन्त्री माउरो भिएरा पनि नयाँ दिल्ली पुगेका छन्। राष्ट्रपतिको निर्वाचन अभियानका कारण लुला भने ब्राजिलमै छन्।
सम्मेलनमा सी र पुटिनसहित इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, अबुधाबीका युवराज मोहम्मद बिन जायद अल नाह्यान, इथियोपियाका प्रधानमन्त्री अबी अहमद अली र भियतनामका प्रधानमन्त्री ले मिन्ह हङ सहभागी हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
यस वर्ष भारतले ब्रिक्सको अध्यक्षता गरिरहेको छ। भारतको अध्यक्षतामा सम्मेलनको मूल विषय ‘लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपनका लागि निर्माण’ रहेको छ। सम्मेलनमा समावेशी विश्व शासन र बहुपक्षीयतालाई सुदृढ बनाउने विषय मुख्य एजेन्डामा छन्।
शनिबार नेताहरू भारत मण्डपममा भेला भएपछि बन्द सत्र सुरु हुनेछ।
त्यसपछि उनीहरूले ‘भारत इनोभेट्स’ प्रदर्शनी अवलोकन गर्नेछन् र संयुक्त वृक्षरोपण कार्यक्रममा सहभागी हुनेछन्।
भारतीय प्रधानमन्त्री मोदीले शनिबार साँझ सहभागी नेताहरूका लागि रात्रिभोज आयोजना गर्नेछन्।
आइतबार ब्रिक्सका साझेदार राष्ट्र तथा आमन्त्रित देशका नेताहरूको सहभागितामा सम्मेलन जारी रहनेछ। त्यस दिन समावेशी विश्वव्यापी आर्थिक वृद्धिका लागि लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपनमा केन्द्रित खुला सत्र हुनेछ।
हाल ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स गरी ११ देश छन्। यी देशले विश्वको करिब ४९.५ प्रतिशत जनसंख्या, ४० प्रतिशत विश्व अर्थतन्त्र र २६ प्रतिशत विश्व व्यापारको प्रतिनिधित्व गर्छन्।
सम्मेलनलाई ध्यानमा राख्दै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
भारत मण्डपम र आसपास करिब ३० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। बम तथा विस्फोटक पदार्थ पत्ता लगाउने कुकुर टोली र ड्रोनविरोधी प्रणालीसमेत तैनाथ गरिएको छ।
दिल्ली प्रहरीले करिब १५ हजार सुरक्षाकर्मी र अर्धसैनिक बलका २०० कम्पनी परिचालन गरेको छ। महत्वपूर्ण क्षेत्रमा ५०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरी निगरानी बढाइएको छ।
सम्मेलनका कारण शनिबार बिहान ९:३० बजेदेखि राति ९:३० बजेसम्म दिल्लीका विभिन्न क्षेत्रमा सवारी आवागमनमा प्रतिबन्ध तथा नियमन गरिएको छ।
भारत मण्डपम र प्रगति मैदान आसपास तथा मध्य दिल्लीलाई उत्तर, दक्षिण, पूर्व र पश्चिम दिल्लीसँग जोड्ने प्रमुख सडकमा आवागमन प्रभावित हुने भएकाले प्रहरीले यात्रुहरूलाई यात्रा अघि नै योजना बनाउन र सम्भव भएसम्म मेट्रो प्रयोग गर्न आग्रह गरेको छ।