जेनजी आन्दोलनका सहिदका लागि न्याय माग गर्दै प्रतिनिधि सभाको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा भावुक बनेकी छन्।
मंगलबार दिउँसो बैठकमा जेनजी सहिदकी आमासमेत रहेकी खतिवडा बोल्दाबोल्दै भक्कानिएकी हुन्।
उनले आफू जेनजी सहिदको न्यायका लागि संसदमा आएको बताउँदै न्याय पाएको दिन पद छाड्नलाई एक सेकेन्ड पनि हिचकिचाहट नहुने बताइन्।
‘यो मेरो यात्राको उद्देश्य शासकहरूले आफ्ना गलत बाटो समयमा सुधारून् भनेर हो। म आज यो रोष्टमबाट स्पष्ट पार्न चाहन्छु जुन दिन जेन्जी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाउँछन् त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुनेछैन। तर बिडम्बना मेरो यो पवित्र उद्देश्य र छातीको घाउ कसैले छोरोको लास माथि सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु,’ उनले भनिन्।
उनले आफूलाई प्रधानमन्त्री बालेन शाहले बारम्बार अनुरोध गरेकाले सांसद बनेको पनि स्पष्ट पारिन्।
‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन। यो मेरो न्याय र खोज्ने यात्रा थियो। मेरो कोखमा ९ महिना हुर्केको ताते ताते गर्दै मेरा आँखामै सामुने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो,’ उनले भनिन्, ‘एउटा विश्वास र पवित्र यात्रा हो राष्ट्रिय स्वतन्त्र पार्टी मेरो घरको दैलोसम्म पुगेको थियो। सम्माननीय प्रधानमन्त्री ज्यूले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ। अन्य तमाम जेन्जीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ।’
संसदको रोष्ट्रमबाट निरन्तर खबरदारी गर्नका लागि आफू आएको पनि उनले बताइन्। उनले सरकारलाई आफ्नो अपमान भइरहँदा सरकारले के हेरेर बसेको भनेर पनि प्रश्न गरेकी छन्।
‘एउटी शहीदकी आमाको यत्रो अपमान हुँदा यो सरकार के हेरेर बसेको छ? आफ्नो छोराहरूको रगत अझै पनि हाम्रा छोराहरूको रगत अझै पनि सुकेका छैनन्। न्यायको अभाव आवास हुने गरी काम गर्नुहोस्,’ उनले भनिन्, ‘कारागारमा भएका जेन्जी थुनिएकाहरूलाई तत्कालै रिहा गर्नुहोस्। घाइते घाइतेहरूको उपचारको लागि संसारको जुनसुकै ठाउँमा लैजानुपरे पनि निःशुल्क उपचार होस्। शहीद परिवारले चित्त बुझ्ने गरी काम गर्नुहोस्।’