प्रधानमन्त्री बालेन्द्र शाहले रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन मौलिक चाडपर्वहरूले प्रेरित गर्नुपर्ने बताएका छन्।
नेपाल संवत् ११४७, म्ह: पूजा, गोवर्धन पूजा तथा हली तिहारको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार शुभकामना दिँदै उनले यस्ता चाडपर्वले आपसी सद्भाव र आत्मीयता बढाउने बताएका हुन्।
‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैं बलियो बनाउन प्रेरित गरून्,’ उनले लेखेका छन्।
उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।
म्ह: पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै उनले आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैैंलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन्। यसले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई प्रगाढ बनाएको उनको भनाइ छ।
त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारको प्रसंग उल्लेख गर्दै उनले कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्पराको चर्चा गरेका छन्।
भैलो र देउसीले पनि छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।