अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परम्परागत सञ्चार माध्यमबीच विवाद चर्किरहेका बेला ह्वाइट हाउसले आफ्नै २४ घन्टा प्रसारण हुने स्ट्रिमिङ च्यानल 'ट्रम्प टिभी' सुरू गरेको छ।
‘ट्रम्प टिभी: द एसेन्सियल स्टेसन’ नाम दिइएको च्यानलले ट्रम्प प्रशासनका भाषण, कार्यक्रम तथा कार्यकारी निर्णयसँग सम्बन्धित भिडिओहरू प्रत्यक्ष वा पुनःप्रसारण गर्ने भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। च्यानल ह्वाइट हाउसको युट्युब अकाउन्ट, ह्वाइट हाउसको वेबसाइट र आधिकारिक एपमार्फत प्रसारण भइरहेको छ।
च्यानल सुरू हुँदा अमेरिकी प्रमुख टेलिभिजन नेटवर्कहरू र ह्वाइट हाउसबीच राष्ट्रपतिको प्रेस पहुँचलाई लिएर विवाद उत्कर्षमा पुगेको छ।
ट्रम्प सरकारले सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि ती सञ्चार माध्यमहरूले विरोध गरेका थिए। त्यसपछि राष्ट्रपति ट्रम्पका सार्वजनिक कार्यक्रमका भिडिओ उपलब्ध गराउने टेलिभिजन प्रेस पूलमा रहेका प्रमुख नेटवर्कहरूले पनि विरोध जनाएका थिए।
यसको परिणाम सोमबार देखियो। ह्वाइट हाउसको एक कार्यक्रममा ट्रम्पले बोलेका कुरा टेलिभिजनमा स्पष्ट रूपमा सुनिएनन् किनकि प्रेस पूलको क्यामरा र अडियो व्यवस्था उपलब्ध थिएन।
यही पृष्ठभूमिमा ह्वाइट हाउसले ट्रम्प टिभी सुरू गरेको हो।
समाचार च्यानलभन्दा राष्ट्रपतिको भिडिओ संग्रहजस्तो
अहिलेसम्म ट्रम्प टिभी परम्परागत समाचार च्यानलभन्दा राष्ट्रपति ट्रम्पका भाषण र गतिविधिको चौबीसै घन्टा प्रसारण हुने भिडिओ संग्रहजस्तो देखिएको छ।
च्यानलमा समाचार एंकर वा नियमित हेडलाइन देखिँदैन। ट्रम्पका विगतका भाषण, कार्यकारी निर्णय र प्रशासनका गतिविधिका छानिएका भिडिओ प्रसारण भइरहेका छन्। कहिलेकाहीँ प्रत्यक्ष कार्यक्रम पनि देखाइन्छ।
सुरूआती प्रसारणमा ट्रम्पको जुलाई ३ को माउन्ट रशमोर भाषण तथा सन् २०२५ को उनको राष्ट्रपतीय शपथ ग्रहण समारोहका दृश्य देखाइएको थियो।
मंगलबार उपराष्ट्रपति जेडी भान्सको ठगी सम्बन्धी दाबी बारेको ब्रिफिङ पनि च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो।
तर त्यही दिन ट्रम्प संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरिरहेका बेला ट्रम्प टिभीमा भने उनको पुरानो नेसनल प्रेयर ब्रेकफास्ट भाषण पुनःप्रसारण भइरहेको थियो।
च्यानलको पहिलो घन्टामा करिब ८,५०० दर्शक जोडिएको द डेली बिस्टले जनाएको छ। मंगलबार दिउँसो ट्रम्पको अगस्टमा भएको स्वास्थ्य सम्बन्धी घोषणाको पुनःप्रसारण हेर्ने दर्शक संख्या करिब १,२०० रहेको एक्सियसले जनाएको छ।
‘मिडियाले नदेखाएको कुरा देखाउने’
ह्वाइट हाउसले ट्रम्प टिभीलाई सरकारका ‘महत्त्वपूर्ण भिडियओहरू’ निर्बाध रूपमा प्रसारण गर्ने माध्यमका रूपमा वर्णन गरेको छ। ह्वाइट हाउसका एक अधिकारीका अनुसार च्यानलको उद्देश्य परम्परागत मिडियाले उचित रूपमा कभर नगरेका ट्रम्पका महत्वपूर्ण गतिविधि पुनःप्रसारण गर्नु हो।
तर च्यानलको नियमित कार्यक्रम कसले बनाउँछ, प्रसारणको समयतालिका कसले निर्धारण गर्छ र च्यानलमा कति कर्मचारी संलग्न छन् भन्ने स्पष्ट छैन।
ह्वाइट हाउसको नयाँ लाइभ स्ट्रिम पेजमा नियमित फिडलाई ‘सिएच ४५’ र ट्रम्प टिभीलाई ‘सिएच ४७’ भनेर उल्लेख गरिएको छ। ट्रम्प अमेरिकाका ४५ औँ र ४७ औँ राष्ट्रपति भएकाले यी नम्बर प्रयोग गरिएको हो।
ट्रम्पको प्रत्यक्ष दर्शकसम्म पुग्ने पुरानो प्रयास
ट्रम्पले परम्परागत सञ्चार माध्यमलाई छलेर आफ्ना समर्थक र सर्वसाधारणसम्म प्रत्यक्ष पुग्ने प्रयास यसअघि पनि गरेका थिए।
सन् २०१६ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा उनको अभियानले फेसबुक लाइभमार्फत ‘ट्रम्प टावर लाइभ’ नामको नियमित कार्यक्रम सञ्चालन गरेको थियो।
त्यसैगरी ट्रम्पसँग जोडिएको ट्रम्प मिडियाको ट्रुथ+ ले पनि २४ घन्टा समाचार स्ट्रिम र मागअनुसार मनोरञ्जन सामग्री उपलब्ध गराउँदै आएको छ। तर ट्रुथ+ व्यावसायिक स्ट्रिमिङ सेवा हो। अमेरिकी सरकारको आधिकारिक प्रसारण माध्यम होइन। यसको प्रसारणमा न्यूजम्याक्स, ओएएन र रियल अमेरिकाज भ्वाइसजस्ता नेटवर्कका कार्यक्रमसमेत समावेश छन्।
राष्ट्रपतिका गतिविधि सार्वजनिक गर्न ह्वाइट हाउसले आफ्नै वेबसाइट तथा डिजिटल प्लेटफर्म प्रयोग गर्नु भने नयाँ अभ्यास होइन। फरक यति हो कि ट्रम्प टिभीले त्यसलाई २४ घन्टा चल्ने एउटै भिडिओ स्ट्रिमका रूपमा प्रस्तुत गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)