नेकपा एमालेका केन्द्रीय सदस्य मिनबहादुर शाहीले पार्टीको आन्तरिक एकता, कार्यशैलीमा सुधार तथा पुस्तान्तरणलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
जारी केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य शाहीले जनसम्बन्ध सुदृढ बनाउन र विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्न अध्यक्ष लगायत शीर्ष नेतृत्वको ध्यान जानुपर्ने बताए।
बैठकको उद्घाटनमा देखिएको असन्तुष्टि हट्दै सहमतिको वातावरण बनेकोमा खुसी व्यक्त गर्दै नेता शाहीले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई अझ उन्नत बनाउन सकिने सुझाव दिए।
आम निर्वाचनपश्चात् गठित कार्यदलले गरेका कामको औचित्य र परिणामबारे केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा पढ्न र छलफल गर्न पाउनुपर्ने उनको भनाइ थियो।
प्रतिवेदनमा उल्लेखित आत्मसमीक्षा (रिअलाइजेशन) प्रयोग र अभ्यासको उच्चतम क्षण भएको भन्दै उनले पुनर्गठन, रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणका विषयलाई फराकिलो दायरामा राखेको बताए।
नेताहरूबीचको आन्तरिक व्यवहार र जनसम्बन्धका विषयमा बोल्दै उनले बोलीवचन र शैली सुधारमा जोड दिए।
‘जनमतको निर्माण तपाईं-हाम्रा बीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र गर्न सक्दैन,’ शाहीले भने, ‘त्यसैले हामी सबैबाट आम रूपमा प्रस्तुत हुने बोलीवचन, व्यवहार र कार्यशैलीमा सुधार गर्न जरूरी ठान्दछु। हाम्रा बीच भइरहेका छलफल र अन्तरसंवादले जनसरोकारका विषयलाई कति प्राथमिकतामा राखिरहेका छौँ, त्यसले अर्थ राख्छ।’
गत निर्वाचनमा ९० देखि १०० सिट जित्ने अनुमान गरिए पनि ग्राउन्डको वास्तविक स्थिति फरक परेको स्वीकार्दै उनले सो विषयमा मसिनो गरी ध्यान दिन नेतृत्वको ध्यानाकर्षण गराए।
बदलिँदो भूराजनीतिक फेरबदलले आन्तरिक जनमतमा पार्ने प्रभावबारे सचेत गराउँदै शाहीले जनता नै सर्वोपरी भएकाले उनीहरूका इच्छा, आकांक्षा र गतिको सम्बोधन गर्दै टुटेको जनसम्बन्धलाई पुनः जोड्नुपर्नेमा जोड दिए।
समयको गतिशीलतासँगै जुनसुकै संरचनामा परिवर्तन अपरिहार्य हुने उल्लेख गर्दै उनले पार्टीका छलफलहरू जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने बताए।