नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले १५ औं केन्द्रीय महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुँदैछ।
नेता राठोरले उक्त महाधिवेशनमा आफू सभापति पदमा उठ्ने बताएका हुन्।
‘म सभापतिमा उम्मेदवारी दिन्छु,’ राठोरले सेतोपाटीसँग भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट काठमाडौं आउँछु र थप छलफलहरू गर्छु।’
उनले कांग्रेसको नेतृत्वमा रहेर काम गर्ने इच्छा रहेको र नेता कार्यकर्ताहरूले साथ र सहयोग गर्ने पनि बताए।
सभापतिमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पनि उठ्नेछन्। अहिलेसम्म सभापतिमा थापा र राठोरको मात्र चर्चा छ।
राठोरले सभापति पदमा उम्मेदवारीका लागि अहिले नै विशेष तयारी गर्न आवश्यक नरहेको बताए। ‘धेरै त्यस्तो के तयारी गरिराख्नु पर्छ र, परे पनि गरौँला, समय छ। यो पार्टीभित्रकै अधिवेशन हो,’ राठोरले भने।
राठोर २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए।
त्यसपछि विशेष महाधिवेशनबाट आएको कार्यसमितिले क्रियाशील सदस्यता अद्यावधिक गराउँदा राठोरले पनि आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेका थिए।
उनले निवर्तमान सभापति देउवा पक्षले लुम्बिनीमा गरेको प्रदेश भेलामै क्रियाशील अद्यावधिक गर्ने घोषणा गर्दै अरूलाई पनि अद्यावधिक गर्न आग्रह गरेका थिए।
उनले महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने वा अन्य तरिकाले उम्मेदवारी दिने भन्ने विषयमा भने पछि नै निर्णय गर्ने प्रतिक्रिया दिएका छन्।
कांग्रेसले गुट, उपगुट र प्यानल बनाएर उम्मेदवारी नदिन नेताकार्यकर्ताहरूलाई आग्रह गरिरहेको छ।
राठोर विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा सक्रिय नेता हुन्। उनी नेविसंघ पूर्वअध्यक्ष पनि हुन्।
महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा सभापतिसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरू खुल्दै गएका छन्।
विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ। जसमा सभापतिले कोषाध्यक्ष र ६१ जना सदस्य मनोनीत गर्नेछन्।