प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दल नेता ज्ञानेन्द्र शाहीले सरकारको गलत कदमको विरोध गर्न नछाड्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले दल प्रतिपक्षी भए पनि सरकारको सही कामको समर्थन गर्ने तर गलत कामको विरोध गरिरहने बताएका हुन्।
'हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ । यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ । हामी सरकारलाई सही मार्ग देखाउन चाहन्छौँ । सत्तापक्षका सांसदहरूले सरकारका कमजोरी ढाकछोप गर्ने होइन, बरु सही बाटो देखाउन सक्नुपर्छ । हामी दास होइनौँ, त्यसैले सरकारका गलत कदमको विरोध गर्न हामी पछि हट्ने छैनौँ,' उनले भने।
उनले सरकारको ६ महिने कार्यकालमा विभिन्न प्रश्न उठेको पनि बताए।
'सरकारले सबै काम गर्नुपर्छ। आकाश पताल एउटै गर्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। यसका लागि समय लाग्ला। तर ६ महिनामा कामको सुरूवात के-के भए? जेनजी आन्दोलनका क्रममा अहिलेका गृहमन्त्रीले घाँटी सुकाइ सुकाइ कराएको हत्याराहरू हुन् भनिएका एक जना मान्छे समात्नुभयो,' उनले भने।
आन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसक्ने उनको टिप्पणी थियो।
'आन्दोलनका क्रममा भएको हत्या, हिंसा र सिंहदरबार तथा संसद् भवन तोडफोडका घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासिनता देखायो,' उनले भने। उनले लामो समयदेखि थन्किएका भ्रष्टाचारका ठूला काण्डहरू; एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिद घोटालाको छानबिन कहाँ पुग्यो भनेर सरकारसँग जबाफ माग पनि गरेका छन्।
उनले ७६ जनाको हत्या गर्नेहरू अहिले खुल्लमखुल्ला हिँडिरहेको बताए।
'मानव अधिकार आयोगले सिंहदबार, संसद भवन, सर्वोच्च अदालत, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारबाही गर् भनेर प्रमाण बुझाएको ६ महिना भयो। तपाईंहरूले अनुसन्धानको 'अ' पनि सुरू गर्नुभएन। अनि तपाईं र हिजोका सरकारबीच फरक के भयो?,' उनले भने।
साथै कानुनको प्रयोग प्रतिशोध साँध्न नभई न्यायका लागि हुनुपर्नेमा उनले जोड दिए।
शाहीले विमानस्थलमा युवाहरूको लर्को देख्नुपर्ने विवशता अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले युवाहरू विदेशिन नपर्ने वातावरण बनाउन र ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गरे।