प्रतिनिधि सभामा सांसदहरू किन उपस्थित हुँदैनन् भनेर उनीहरूलाई मात्र प्रश्न गर्नुको सट्टा सदन स्वयम्ले यसको कारण खोज्नुपर्ने आवाज उठेको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदको बैठकलाई सम्बोधन गर्दै सांसदहरूको भूमिका खोसेर र उपस्थितिको ‘टाउको’ मात्रै गनेर सदन बलियो हुन नसक्ने बताएकी हुन्।
विद्यालयमा विद्यार्थी किन आउँदैनन् भनेर विद्यालयले सोचेजस्तै सदनले पनि सांसदहरूको अनुपस्थितिको गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्ने धितालले बताएकी हुन्।।
सांसदहरूलाई दलको आदेश र अघोषित मुकामहरूको नियन्त्रणबाट मुक्त गरी आफ्ना विचार र विवेक ओतप्रोत हुन दिनुपर्ने धितालले बताइन्।
'भूमिका खोसिएको ठाउँमा उपस्थिति मात्र खोजेर सदन जीवन्त हुँदैन', उनको तर्क छ।
सांसदलाई ‘आइडेन्टिटी क्राइसिस’
सदनमा सांसदहरूले पहिचानको सङ्कट खेपिरहेको उनको भनाई थियो।
'हामी त अस्थायी हौ, सदन स्थायी हो,' धितालले भनिन्, 'सोचौं त, सांसदलाई नै ‘आइडेन्टिटी क्राइसिस’ भयो भने उनीहरू के गर्छन्? उनीहरू ‘एक्सन’मा कम र ‘एक्टिङ’मा बढी ध्यान लगाउँछन्।'
संसदमा उपस्थित नहुँदा कसैको मान बढ्ने र कसैको हेडलाइन बन्ने प्रवृत्तिको उनले विरवध गरिन्।
भारतीय लेखिका अरुन्धती रोयको पुस्तक ‘लिसनिङ टु ग्रासहोपर्स’ को सन्दर्भ जोड्दै सांसद धितालले लोकतन्त्रका बाहिरी ढाँचा उभिए पनि त्यसको सार मर्न सक्ने खतरा औंल्याइन्।
'संसद हुन्छ, चुनाव हुन्छ, प्रतिनिधि हुन्छन्, बहस र मतदान पनि हुन्छ; तर ती सबै भइरहँदा पनि लोकतन्त्रको सार बाँकी नरहन सक्छ,' रोयको भनाइ उद्धृत गर्दै धितालले भनिन्, 'हामीले चाल पाएर पनि चाल नपाएजस्तो गरिरहेका हुन सक्छौँ। यो कुरा हामीले हाम्रो संसदको सन्दर्भमा पनि सोध्नुपर्छ।"
संसदमा बोल्नुभन्दा मन्त्रालय र सचिवालय धाउँदा कामको सुनुवाइ हुने अवस्था कसले र कसरी सिर्जना गर्यो भन्दै धितालले प्रश्न गरिन्।
संसदलाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने ठाउँमा मात्र सीमित नराखी सरकारलाई संसदप्रति पूर्ण जवाफदेही बनाउनुपर्ने उनको तर्क थियो।
सत्तापक्षभित्रै पनि प्रतिपक्ष हुने उल्लेख गर्दै उहाँले प्रश्न उठाउने सांसदहरूलाई षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) लगाएर बाँध्न नमिल्ने बताइन्।
'अब यस्तो सदन बनोस्, जहाँ सांसदलाई सदन आउनु बाध्यता नबनोस्, इच्छा बनोस्', धितालले भनिन्।
संघीय संसदको अधिवेशन आज अन्त्य हँदैछ।