अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको सात महिनादेखिको युद्ध अन्त्य गर्न र सम्झौताको वातावरण बनाउन इरानले आफ्नो आणविक प्रशोधन क्षमता ‘अर्थपूर्ण रूपमा’ घटाउनुपर्ने बताएका छन्।
समाचार संस्था रोयटर्ससँगको विशेष अन्तर्वार्तामा भान्सले इरानले भविष्यमा आणविक कार्यक्रम घटाउने आश्वासन मात्र दिएर नपुग्ने भन्दै अहिले नै ठोस कदम चाल्नुपर्ने बताए।
‘यदि तपाईंलाई आणविक हतियार चाहिँदैन भने ६० प्रतिशतसम्म प्रशोधित इन्धन किन चाहिन्छ?’ भान्सले भने, ‘आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने उच्च तहमा प्रशोधित इन्धन उत्पादन नगर्नुस्।’
उनका अनुसार इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन आफ्नो प्रशोधन क्षमतामा ठोस कटौती गर्नुपर्नेछ। शब्दमा मात्रै कटौती गरेर नहुने उनले बताए।
अमेरिका र इरानबीच पछिल्ला केही सातादेखि युद्ध अन्त्य गर्ने र विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्ग स्ट्रेट अप हर्मुज पुनः खोल्ने विषयमा प्रस्ताव आदानप्रदान भइरहेका छन्।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो प्रस्ताव अस्वीकार गरिसकेका छन्। उनले नोभेम्बरमा हुने संसदीय निर्वाचनपछि सैन्य कारबाही थप तीव्र हुन सक्ने चेतावनी समेत दिएका छन्।
भान्सले भने अमेरिका अझै सम्झौताका लागि खुला रहेको तर त्यसका लागि इरानबाट आणविक कार्यक्रम सम्बन्धी ठोस लचकता आवश्यक पर्ने बताए।
वार्तालाई थप जटिल बनाउने अर्को विषय भनेको इरानमा वास्तविक निर्णयकर्ता को हो भन्नेमा अमेरिकाको अन्योल हो।
भान्सका अनुसार अमेरिका इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघ्चीसँग वार्तामा छ। तर इरानको शक्ति संरचनाभित्र उनीहरूलाई कति अधिकार छ भन्ने स्पष्ट नभएको उनले बताए।
युद्धको सुरुवातमा अमेरिका र इसराइलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानको निर्णय प्रक्रिया झन् अस्पष्ट भएको अमेरिकी पक्षको दाबी छ।
‘हामीले बुझेका कुरामध्ये एउटा के हो भने उनीहरूको देशले कसरी निर्णय गर्छ भन्ने पूर्ण रूपमा स्पष्ट छैन,’ भान्सले भने।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि मंगलबार इरानको नेतृत्व कसले गरिरहेको छ भन्ने थाहा नहुनुलाई आफ्नो ‘सबैभन्दा ठूलो समस्या’मध्ये एक बताएका थिए।
तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी दाबी अस्वीकार गरेका छन्। उनका अनुसार अमेरिकालाई आफ्ना इरानी समकक्ष र इरानको निर्णय प्रक्रियाबारे राम्रोसँग जानकारी छ।
‘समस्या उल्टो छ। समस्या अमेरिकी अधिकारीहरूका परस्पर विरोधी धारणा र मिश्रित सन्देशमा छ,’ बघाईले भने।
हर्मुजमा इरानी सेनाको प्रभाव सीमित रहेको अमेरिकी दाबी
भान्सले आफूले युद्धमैदानको अवस्था बुझ्न सैन्य कमान्डरहरूसँग प्रत्यक्ष कुराकानी गरेको बताए।
उनले अमेरिकी सेनासँग महत्वपूर्ण हतियार तथा गोलाबारुदको अभाव भएको भन्ने चिन्ता पनि अस्वीकार गरे।
उनका अनुसार इरानी सेनाले समय–समयमा हर्मुजमा व्यावसायिक पानीजहाजलाई आक्रमण गर्न सके पनि त्यस क्षेत्रबाट हुने ऊर्जा निर्यातलाई पूर्ण रूपमा रोक्न भने सकेको छैन।
हर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो। यहाँ लामो समयसम्म अवरोध उत्पन्न हुँदा विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर परेको छ।
भान्सले आफूले शान्ति वार्ताको नेतृत्व गरिरहेको हो कि होइन भन्नेबारे भने स्पष्ट जवाफ दिएनन्। ह्वाइट हाउसका प्रमुख वार्ताकारका रूपमा उनको नाम बारम्बार चर्चामा आउने गरेको छ।
‘हामी निश्चित रूपमा यसमा संलग्न छौं,’ उनले भने, ‘अन्ततः अमेरिकी राष्ट्रपतिले नै सबै कुरा अघि बढाइरहनुभएको छ।’
युद्धको असर अमेरिकी निर्वाचनमा पनि
इरानसँगको युद्ध अमेरिकी राजनीतिका लागि समेत चुनौती बनेको छ। युद्धमा अमेरिकाले मासिक करिब तीन अर्ब डलर खर्च गरिरहेको बताइएको छ।
युद्धका कारण पेट्र्लियम पदार्थको मूल्य बढेपछि आगामी नोभेम्बरमा हुने निर्वाचनमा राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीमाथि दबाब बढेको छ।
विशेषगरी संसद्को नियन्त्रण निर्धारण गर्ने प्रतिस्पर्धात्मक राज्यहरूमा महँगो तेल प्रमुख चुनावी मुद्दा बनेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)