फिनल्याण्डको खाडीमा रूसी मालवाहक पानीजहाजमाथि शनिबार भएको हमला युक्रेनले गरेको खुलेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै आफ्नो देशले ड्रोन हमला गरेको स्वीकार गरेका हुन्।
जेलेन्स्कीले घटना भएको तीन दिनमा पानीजहाजमा भएको हमला युक्रेनले गरेको स्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
तर युक्रेनको बलियो समर्थक नर्वेले भने यस्ता सैन्य कारबाही गर्दा सावधानी अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न सुझाव दिएको छ।
आक्रमणपछि जहाजमा लागेको आगो निभाउन फिनल्यान्ड, इस्टोनिया र रुसका जहाजले संयुक्त उद्धार अभियान चलाएका थिए।
आइतबार रुसी जहाजले आगलागी भएको मालवाहक जहाजलाई तानेर रुसी जलक्षेत्रमा पुर्याएको थियो। अहिले उक्त जहाज सेन्ट पिटर्सबर्गमा लङ्गर लगाएर राखिएको छ।
जेलेन्स्कीले उक्त आक्रमणलाई वैध सैन्य लक्ष्यमा गरिएको कारबाही बताएका छन्। ‘हामीले सबै कुरा सही गरेका छौं,’ ब्लुमबर्गसँगको कुराकानीमा जेलेन्स्कीले भने।
उनले रुसी झण्डा बोकेका र हतियार वा प्रतिबन्धित सामान ओसारपसार गर्ने जुनसुकै जहाजमा युक्रेनका लागि वैध सैन्य लक्ष्य हुने बताए। त्यस्ता जहाज रुसी जलक्षेत्रमा भए पनि वा अन्तर्राष्ट्रिय जलक्षेत्रमा भए पनि आक्रमण गर्न पाउने उनको दाबी छ।
आक्रमणमा परेको स्पार्टा–२ नामक जहाज रूसी झण्डावाहक मालवाहक जहाज हो।
यो रुसको रक्षा मन्त्रालयलाई ढुवानी सेवा उपलब्ध गराउने कम्पनी ओबोरोनलोजिस्टिकाको स्वामित्वमा छ।
कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार यसले रुसी रक्षा मन्त्रालयका लागि सैन्य सामग्री तथा अन्य सामान ओसारपसार गर्ने काम गर्छ।
जेलेन्स्कीले आक्रमण रुसी जलक्षेत्रभित्रै भएको बताए।
‘हामीसँग त्यसो गर्ने सबै अधिकार थियो। त्यसपछि जहाज केही बगेर गएको थियो र त्यसबारे पक्कै प्रश्न उठेका छन्,’ उनले भने।
युरोपेली साझेदार मुलुकहरू बाल्टिक सागर क्षेत्रमा हुने यस्ता आक्रमणप्रति चिन्तित रहेको पनि उनले स्वीकार गरे।
साझेदार मुलुकहरूलाई आक्रमणबारे पर्याप्त जानकारी दिन र उनीहरूलाई अचम्ममा पार्ने अवस्था आउन नदिन आफूले मन्त्रीहरू र सेनालाई निर्देशन दिएको उनले बताए।
नजिकको क्षेत्रमा स्थिरता चाहिन्छ– नर्वे
नर्वेका रक्षामन्त्री तोरे सान्डभिकले मंगलबार युक्रेनसँग यस विषयमा संवाद भइरहेको बताए। युक्रेनले आफ्नो नजिकको क्षेत्रमा स्थिरता कायम राख्नुपर्ने नर्वेको चाहना रहेको उनको भनाइ छ।
‘रुसले युद्ध रोक्ने हो भने सबै आक्रमण तत्काल रोकिनेछन्। तर युक्रेनले यस्ता कारबाही अन्तर्राष्ट्रिय कानुनको दायराभित्र रहेर गर्नुपर्छ भन्नेमा हाम्रो ध्यान छ। त्यसैले हामीले यो विषय उनीहरूसँग उठाएका छौँ,’ सान्डभिकले पत्रकारहरूसँग भने।
युक्रेनले नर्वेको नजिकको क्षेत्रमा स्थिरताको आवश्यकतालाई पनि सम्मान गर्नुपर्ने उनले बताए। यस विषयमा युक्रेनसँग राम्रो संवाद भइरहेको उनको भनाइ छ।
सान्डभिकले युक्रेनका रक्षामन्त्री येभेनी खमारासँग ड्रोन प्रतिरोधी प्रणालीमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि यस्तो बताएका हुन्। सम्झौताअनुसार युक्रेनका थप क्षेत्रमा ड्रोन प्रतिरोधी प्रणालीको प्रयोग विस्तार गरिनेछ।
सान्डभिकले खमारासँगको भेटमा फिनल्यान्डको खाडीमा भएको आक्रमणबारे छलफल गरे वा नगरेको भने खुलाएनन्।
नेटो सदस्य राष्ट्र नर्वेले सन् २०२३ देखि २०३० सम्मका लागि युक्रेनलाई करिब २७ अर्ब अमेरिकी डलर सहयोग गर्ने दीर्घकालीन योजना बनाएको छ।
संसद्का सबै दलको समर्थन रहेको यो योजना प्रतिव्यक्ति सहयोगका हिसाबले युक्रेनलाई सहयोग गर्ने उदार मुलुकमध्ये नर्वेलाई अग्रस्थानमा राख्ने योजनामध्ये एक हो।
यसैबीच, गत सेप्टेम्बरदेखि रुसी सेनाले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा लगभग निरन्तर हवाई आक्रमण गर्दै आएको छ।