अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै सबैभन्दा न्यून विन्दु नजिक पुगेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र जनमत सर्वेक्षण गर्ने फ्रान्सेली संस्था इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रति समर्थन जनाउने अमेरिकीको संख्या ३२ प्रतिशतमा सीमित भएको हो।
गत साता भएको मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनको नियन्त्रण गुमाएपछि सार्वजनिक भएको सर्वेक्षणले उनको लोकप्रियता अझै कमजोर अवस्थामा रहेको देखाएको हो।
अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरूसम्म गरिएका दुई सर्वेक्षणमा पनि ट्रम्पको लोकप्रियता ३२ प्रतिशत नै थियो।
अक्टोबरको मध्यमा भने यो घटेर ३१ प्रतिशत पुगेको थियो। त्यो उनको राजनीतिक जीवनकै सबैभन्दा कम लोकप्रियता थियो।
ट्रम्पको लोकप्रियता घट्नुको प्रमुख कारण बढ्दो महँगी र जीवनयापनको लागत व्यवस्थापनमा उनको कमजोर प्रदर्शनलाई मानिएको छ।
सर्वेक्षणमा सहभागीमध्ये २१ प्रतिशत अमेरिकीले मात्रै जीवनयापनको लागत व्यवस्थापनमा ट्रम्पको कामप्रति समर्थन जनाएका छन्।
गत फेब्रुअरीमा इरानमाथि युद्ध सुरू गर्ने ट्रम्पको निर्णयले इन्धनको मूल्य बढाएको छ।
यसले सर्वसाधारणको घरायसी खर्चमा थप दबाब पारेको छ।
महँगी नियन्त्रण गर्न नसकेको विषयले ट्रम्पको लोकप्रियता घटाउनुका साथै मध्यावधि निर्वाचनमा उनको पार्टीको पराजयमा समेत भूमिका खेलेको छ।
नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेको छ।
प्रतिनिधिसभामा डेमोक्र्याटिक पार्टीले सन् २००८ यताकै ठूलो सफलता पाएको छ।
त्यस्तै, रिपब्लिकनको बलियो पकड रहेका कन्सास, साउथ क्यारोलाइना र टेक्सासमा समेत सिनेटका सिट जितेको छ।
रोचक कुरा के छ भने ट्रम्पको आप्रवासन नीतिप्रतिको समर्थन भने अर्थतन्त्र व्यवस्थापनको तुलनामा बढी छ।
सर्वेक्षणमा ३८ प्रतिशत अमेरिकीले उनको आप्रवासन नीतिलाई समर्थन गरेका छन् भने अर्थतन्त्र व्यवस्थापनमा २५ प्रतिशतले मात्रै समर्थन जनाएका छन्।
रिपब्लिकन पार्टीका मतदातामध्ये ८१ प्रतिशतले ट्रम्पको आप्रवासन नीतिलाई समर्थन गरेका छन्।
तर जीवनयापनको लागत व्यवस्थापनमा उनको कामलाई समर्थन गर्ने रिपब्लिकन मतदाता ५० प्रतिशत मात्रै छन्।
ट्रम्पले सन् २०२५ जनवरीमा दोस्रोपटक ह्वाइट हाउस प्रवेश गरेपछि आप्रवासी निष्कासन अभियानलाई तीव्र बनाएका छन्।
यस अभियानका प्रमुख योजनाकारमध्येका एक स्टेफन मिलरलाई उनले गत साता ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका थिए।
रोयटर्स र इप्सोसले नोभेम्बर ६ देखि ९ सम्म अनलाइनमार्फत गरेको सर्वेक्षणमा अमेरिकाका १ हजार ७०५ जना वयस्क सहभागी थिए।
सर्वेक्षणको त्रुटि सीमा करिब दुई प्रतिशत विन्दु रहेको रोयटर्सले जनाएको छ।