मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।
प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए।
विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको उनले जानकारी दिए।
विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वासको मत लिनु अघिसम्म संवाद जारी राख्ने उनको भनाइ छ।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
त्यस्तै सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सत्तारूढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।
मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।
त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।