नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन तयारी समितिको बैठक आह्वान गरेको छ।
समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ९ गते बुधबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिएका हुन्।
बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ।
बैठकमा कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद, पूर्वसांसद, सातै प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा संयोजक, महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष र पदाधिकारीलगायतलाई आमन्त्रण गरिएको उनले बताए।
त्यस्तै, प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका पूर्वपदाधिकारी र काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय सभापति तथा जिल्ला पदाधिकारीलाई समेत बैठकमा उपस्थितिका लागि जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।