नेपाली कांग्रेसका सभापति गगन थापाले असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशन सम्पन्न भइसकेकोले अब फेरि कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्न नमिल्ने बताएका छन्।
उनले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्न लागेकोतर्फ लक्ष्य गर्दै त्यसमा सहभागी हुने नेता तथा कार्यकर्ताहरूलाई राजीनामा दिइहाल्न भनेका छन्।
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरूलाई नयाँ पार्टीमा लाग्ने हो भने राजीनामा दिन सभापति थापाको सुझाव छ। यदि राजीनामा नदिने हो भने विधानअनुसार कारबाही गरिने उनले प्रष्ट पारेका छन्।
कृष्णप्रसाद सिटौलालगायत केही नेताहरू राष्ट्रिय सभा सांसद छन् र उनीहरू बेग्लै महाधिवेशन तयारीमा छन्।
‘अस्ति महाधिवेशन लडेर पराजित भएर यताउता जाने कुरा त थोरै लोकलाज राख्नुपर्छ,’ उनले आज केन्द्रीय समिति बैठक सुरू गर्दै भने, ‘म सभापति भएकोले सबैलाई मिलाएर लैजानुपर्ने दायित्व छ। साथै विधान पनि पालना गर्नुपर्छ। कांग्रेस विधानले कुनै व्यक्ति पार्टीको चुनाव चिह्न लिएर लडेको छ र ऊ अर्को पार्टीमा लाग्छ भने ऊ कांग्रेसको सदस्य कायम रहँदैन। त्यसैले म आह्वान गर्छु- तपाईं राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हुनुहुन्छ भने अधिवेशनमा आउनुभयो वा आउनुभएन फरक पर्दैन। तर तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने तपाईंले जुन सभामा हुनुहुन्छ राजीनामा गर्नुहोला, गर्नुभएन भने विधानले गर्छ। विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो।’
आफूले कसैलाई पनि पार्टीबाट निकाल्न नखोजेको पनि उनको भनाइ छ। ‘एक व्यक्ति राष्ट्रिय सभा सदस्य हुनुहुन्छ, कांग्रेसको पनि सदस्य र अर्को कुनै पार्टीको पनि सदस्य हुन पाउनुहुन्न। अब हुने नेपाली कांग्रेसको अधिवेशन होइन, एकै पार्टीको दुई अधिवेशन हुन सक्दैन,’ उनले भने, ‘मेरो कोसिस सबैलाई राखौं भन्ने हो।’