लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा प्रभावितलाई दोष दिने नभई साथ दिने सामाजिक वातावरण निर्माण गर्न जरूरी रहेको बताएका छन्।
लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अन्तर्क्रिया कार्यक्रमलाई बुधबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्रै पर्याप्त नभई प्रभावकारी कार्यान्वयन र सामाजिक व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका हुन्।
हिंसाका घटनामा पीडितलाई दोषी ठहर गर्ने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको पहिचान, गोपनीयता र सम्मानको रक्षा गरी न्याय सुनिश्चित गर्नुपर्ने उनको जोड थियो।
लैंगिक हिंसा मानव अधिकार, सामाजिक न्याय, समानता र सभ्य समाज निर्माणसँग जोडिएको विषय भएको भन्दै घरभित्र, सार्वजनिक स्थान, कार्यस्थल तथा सामाजिक सञ्जालमा हुने हिंसाका सबै स्वरूप अस्वीकार्य रहेको उनले बताए।
मुख्यमन्त्री आचार्यले शारीरिक हिंसासँगै मानसिक, आर्थिक, यौनजन्य, सामाजिक तथा प्रविधिको माध्यमबाट हुने हिंसाले पनि व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र सुरक्षित जीवनयापनको अधिकार कुण्ठित गर्ने भएकाले हिंसालाई पहिचान गर्ने, त्यसविरूद्ध आवाज उठाउने र पीडितलाई न्याय दिलाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को परिकल्पना हिंसा, विभेद र असुरक्षामुक्त समाज निर्माणबाट मात्रै पूरा हुने भन्दै आचार्यले समाजका आधा जनसंख्याले भय र असुरक्षामा जीवन बिताउनुपर्ने अवस्था रहेसम्म समृद्धिको लक्ष्य अधुरो रहने तर्क गरे।
हरेक महिला सुरक्षित, बालबालिका सम्मानपूर्वक बाँच्न पाउने र नागरिकले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको दाबी थियो।
प्रदेश सरकारले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सीप विकास, उद्यमशीलता, निर्णय प्रक्रियामा सहभागिता तथा हिंसा प्रभावितको संरक्षण र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताए।
लैंगिक उत्तरदायी बजेट प्रणाली, महिला तथा बालबालिकामैत्री सेवा प्रवाह र सामाजिक विभेद न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको उनको जिकिर थियो।
लैंगिक समानता महिलाको मात्रै मुद्दा नभई समग्र समाजको साझा सवाल भएको उल्लेख गर्दै उनले पुरूषले पनि सोच र व्यवहार परिवर्तन गरी हिंसा विरूद्ध आवाज उठाउनुपर्ने बताए।
हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्नुको सट्टा कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्ने उनको कथन थियो।
मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने १६ दिने अभियानलाई औपचारिक कार्यक्रममै सीमित नगरी वर्षभरि निरन्तर चल्ने सामाजिक जागरणका रूपमा अघि बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले सझाव थियो।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णाकुश्मा थारु, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले सम्बोधन गरेका थिए।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रम सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो।