नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिनको सुरूवात १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘सिग्नेचर गीत’ बजाएर गरिएको छ।
मंसिर ७ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरू भएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कांग्रेसले स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा जुट्न आह्वान गरेको छ। उक्त खेलकुद प्रतियोगिताको मंसिर १६ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ।
बैठकमा वक्ताहरूले धारणा राख्ने क्रममा समेत बीचबीचमा राष्ट्रिय खेलकुदको सिग्नेचर गीतको मुख्य अंश बजाइएको थियो।
बैठकमा बोल्दै कांग्रेस सभापति गगन थापाले सात हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिताले नेपाली खेलकुदको विकास र विस्तारमा नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरेका थिए।
बैठकले प्रतियोगितालाई भव्य, सभ्य र अविस्मरणीय बनाउन तीनै तहका सरकार, निजी क्षेत्र, खेलप्रेमी समुदाय तथा सम्पूर्ण नेपालीलाई सहयोग र सहभागिताका लागि अपिल गरेको छ।
साथै प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीलाई स्वस्थ प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।