नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। निधिले सभापतिका लागि नेता शशांक कोइरालासँग सहयोग र समर्थनसमेत मागेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वमहामन्त्री कोइरालालाई १५औँ महाधिवेशन तयारी समिति संयोजक बनाएको छ। उनकै नेतृत्वमा महाधिवेशनका तयारीका काम अघि बढिरहेका छन्।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा महाधिवेशन तयारी समितिको बैठक बस्नुअघि निधि र कोइरालाबीच भेटवार्ता भएको थियो। भेटमा निधिले आफू सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको भन्दै कोइरालासँग समर्थन मागेका थिए।
निधिले १४औँ महाधिवेशनमा आफूले देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेको स्मरण गराउँदै त्यसबेला आफूहरूकै सहयोगमा देउवा सभापति निर्वाचित भएको बताएका थिए।
त्यस्तै, आफूहरूले कोइरालालाई विगतमा महामन्त्री बनाएको र अहिले महाधिवेशन तयारी समिति संयोजक बनाएको उल्लेख गर्दै निधिले यसपटक सभापति बन्न आफूलाई सहयोग चाहिने कुरा बताएका थिए।
निधिले समर्थन मागे पनि कोइरालाले कुनै जबाफ दिएनन्। निधिनिकट एक नेताका अनुसार कोइरालाले निधिको कुरा सुने पनि आफ्नो धारणा व्यक्त गरेनन्।
निधिले आफू पार्टीको उपसभापति भइसकेको र १४औँ महाधिवेशनमा पनि सभापति पदमा प्रतिस्पर्धा गरिसकेको भन्दै यसपटक आफ्नो उम्मेदवारी स्वाभाविक हुने धारणा कोइरालासमक्ष राखेका थिए।
उनले आफूनिकट नेताहरूलाई पनि सभापतिमा उम्मेदवारी दिने भएकोले त्यसअनुसार तयारी थाल्न भनिसकेका छन्।
देउवाले आफूलाई नै सभापति बनाउने विश्वास शशांकमा रहेको उनीनिकट नेताहरू दाबी गर्छन्।
‘साउनको राष्ट्रिय सम्मेलनबाट देउवाले शशांकलाई संयोजक बनाउनुको अर्थ दीर्घकालीन नेतृत्वमा पनि उनैलाई अघि सार्ने सन्देश हो भन्ने नेताहरूले बुझ्नुपर्छ,’ शशांकनिकट ती नेताले भने।
सभापतिका आकांक्षी बढ्दै
नेता शशांक कोइराला पनि सभापति पदका आकांक्षी हुन्। देउवा पक्षले अहिलेसम्म ६० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ भने दुई प्रदेशको अधिवेशन सकिएको छ। तल्लो तहका अधिवेशन सम्पन्न हुँदै गएपछि अब केन्द्रीय नेतृत्व चयनबारे पनि छलफल हुन थालेको छ।
सभापति पदका आकांक्षीहरूलाई व्यवस्थापन गर्न र पार्टीको केन्द्रीय कार्यसमितिलाई थप समावेशी बनाउन विधान संशोधन गर्ने तयारी भइरहेको छ। प्रदेश तहसम्म पदाधिकारी संख्या बढाए पनि केन्द्रीय पदाधिकारीको संख्या बढाउने र कार्यसमितिको आकार विस्तार गर्ने विषयमा छलफल हुन बाँकी रहेको नेताहरू बताउँछन्।
देउवा पक्षले अहिलेसम्म वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सहमतिका आधारमा गर्दै आएको छ। केन्द्रीय महाधिवेशन पनि सहमतिमै सम्पन्न गर्ने प्रयास भइरहेको छ। तर निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि नेतृत्व चयनका लागि चुनाव हुन सक्ने आकलनसमेत गरिएको छ।
सभापति पदका लागि निधि र कोइरालासँगै नेता प्रकाशशरण महत र एनपी साउदको नाम पनि चर्चामा छ।
पुरानो सहकार्य, अहिले प्रतिस्पर्धाको सम्भावना
विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच १३औँ महाधिवेशनदेखि नै मिलेर एक जना सभापतिको उम्मेदवार बनाउने विषयमा पटक-पटक छलफल हुँदै आएको थियो। उनीहरूबीच एकअर्काको घरमा 'लन्च मिटिङ' समेत हुने गरेको थियो।
तर २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनमा निधि र सिंह दुवैले सभापति पदमा उम्मेदवारी दिएका थिए। त्यसपछि पनि उनीहरूबीचको भेटघाट र छलफलले निरन्तरता पाएको थियो।
अहिले निधि र कोइराला दुवैले सभापति पदमा आकांक्षा देखाएका छन्। तर प्रकाशमान सिंहले भने अहिलेसम्म आफ्नो उम्मेदवारीबारे स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।
यता, देउवा पक्षका केही नेताहरूले भने पार्टीभित्रका सबै नेताहरूलाई एकताबद्ध बनाएर सहमतिमै सभापति र पदाधिकारी चयन हुने विश्वास व्यक्त गरेका छन्।
देउवानिकट एक नेताका अनुसार प्रदेश अधिवेशन सम्पन्न भएपछि मात्रै पार्टी नेतृत्वबारे देउवाकै उपस्थितिमा छलफल गर्ने तयारी छ। अहिले कसलाई सभापति बनाउने भन्ने विषयमा औपचारिक छलफल सुरू नभएको ती नेताको भनाइ छ।
उनका अनुसार पदाधिकारीको संख्या र केन्द्रीय कार्यसमितिको आकार कस्तो बनाउने भन्ने विषयले धेरै नेता व्यवस्थापन गर्न सकिन्छ।
नेताहरूले पार्टी नेतृत्वमा पुग्ने इच्छा व्यक्त गर्नु स्वाभाविक भए पनि कसलाई सभापति बनाउने वा पदाधिकारी बनाउने भन्नेबारे देउवा समूहभित्र औपचारिक कुरा नभएको ती नेताले बताए।
‘हामीसँगको भेटमा देउवाले सहमति नभए चुनाव पनि हुन सक्छ भन्नुभएको छ,’ पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका एक नेताले भने, ‘सहमति वा चुनाव जे भए पनि सौहार्दपूर्ण वातावरणमै महाधिवेशन सकिन्छ।’
गत वर्ष पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेका शेरबहादुर देउवा र नेता शेखर कोइरालानिकट केही नेताहरूले अहिले छुट्टै महाधिवेशन गर्न लागेका हुन्।