पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
उनलाई आज नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
मलेसिया पठाउने श्रमिकलाई ठगी गरेको कसुरमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सिआइबीले अर्यालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
यही प्रकरणमा दुई जना पूर्वमन्त्रीसहित ६ जना यसअघि नै पक्राउ परेका थिए। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका थिए।
मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोप उनीहरूमाथि छ।
मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरूङ पनि पक्राउ परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरूविरूद्ध जाहेरी दिएपछि सिआइबीले अनुसन्धान अघि बढाएको हो।
सिआइबीले ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा उनीहरूमाथि म्याद थप भएर अनुसन्धान अघि बढाएको छ।