नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरूद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताएका छन्।
उनले नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपालप्रति बक्रदृष्टि लगाइरहेको दाबी गरे।
यसप्रति पार्टीका नेता तथा कार्यकर्ताहरू सचेत र सतर्क हुनुपर्ने उनको भनाइ छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरूद्ध प्रयोग हुन नदिनुपर्ने र प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा पनि देशलाई विवादमा पार्न नहुने बताए।
उनले नेपालको भौगोलिक अवस्थाले समेत असंलग्न परराष्ट्र नीतिको आवश्यकता निर्देशित गरेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए।
नेपालले राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताउँदै आन्दोलनबिना परिवर्तन सम्भव नहुने बताए।
आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
उनले पार्टी निर्माण र संगठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीको स्कुल विभाग र सम्बन्धित पक्षलाई आग्रह गरे।
पार्टी निर्माणका लागि कार्यकर्ता प्रशिक्षणको महत्वपूर्ण भूमिका रहने भन्दै उनले त्यसका लागि समन्वय गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
नेपालले भने, ‘राष्ट्रियताको कुरालाई हामीले सबभन्दा उच्चतम प्राथमिकता दिइरहेका छौँ। राष्ट्रियता संकटमा छ। विदेशी शक्तिहरूले नेपालमा बक्रदृष्टि लगाइरहेका छन्। यसप्रति हाम्रो पार्टी र हाम्रो पार्टीका कार्यकर्ताहरू सबैभन्दा पहिला अत्यधिक सतर्क हुनुपर्छ। नेपालको भूमिमा कसैले पनि वक्र दृष्टि नलगाओस्। नेपालको भूमिलाई छिमेकीका विरूद्धमा र आफ्नो सैन्य गतिविधि गर्ने अखडाको रूपमा प्रयोग गर्ने काम कसैले नगरोस्। नेपालको विभिन्न साधन स्रोतको प्रयोग गर्ने सन्दर्भमा पनि कुनै विवादमा नेपाल नपरोस्। असंलग्न परराष्ट्र नीति नेपालले जुन अपनाएको छ, त्यो भूगोलले पनि निर्देशित गरेको छ। दुवै छिमेकीसँगको सम्बन्ध सुमधुर होस्।’
उनले अगाडि भने, ‘विगत इतिहास हेर्ने हो भने आन्दोलनले नै वास्तवमा परिवर्तन ल्याएको छ। आन्दोलन बिना परिवर्तन सम्भव छैन। आन्दोलनले नै जनतामा चेतना र जागरण सिर्जना गरेको छ। त्यसैले हामीले जनपरिचालन गर्ने कुरा छ। पार्टी परिचालन, पार्टी निर्माण गर्ने कुरालाई हामी महत्व दिन्छौँ। पार्टी निर्माणका लागि राम्रा कार्यकर्ता तयार गर्दछौँ। यसमा प्रशिक्षणको पनि त्यत्तिकै ठूलो महत्व छ। पार्टीको स्कुल विभागले पनि, तपाईंहरुले पनि समन्वय गरेर प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्छ।’
सहसंयोजक नेपालले नेपाल सगरमाथा र बुद्धको देश भएको बताए। –न्युज एजेन्सी नेपाल