इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एकताको सरकार बनाउन विपक्षी गादी आइजेनकोटलाई प्रस्ताव गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत नेतन्याहूले सरकारको आलोपालो नेतृत्व गर्नेगरी एकताको सरकार बनाउन आइजेनकोटलाई प्रस्ताव गरेका हुन्।
यसका लागि आइजेनकोटलाई सुरूमै प्रधानमन्त्री छाड्न पनि आफू तयार रहेको नेतन्याहूले बताएक छन्।
‘नेतृत्वमा रहेको मेरो जिम्मेवारीले मलाई सबै कुरा त्याग्न बाध्य बनाउँछ। यसमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने सिद्धान्तसमेत पर्छ,’ नेतान्याहुले लेखेका छन्।
नेतान्याहुको प्रस्तावपछि आइजेनकोटले तत्कालै प्रतिक्रिया दिँदै वास्तविक र तीव्र गतिमा वार्ता अघि बढाउन उनलाई निम्तो दिएका छन्।
इसराइलमा अक्टोबरमा भएको संसदीय निर्वाचनपछि सरकार गठनको प्रयास जारी छ।
निर्वाचनमा आइजेनकोट नेतृत्वको मध्यमार्गी याशार पार्टीसहित चार विपक्षी यहुदी दलले ४८ सिट जितेका थिए।
नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टी नेतृत्वको गठबन्धनले ५३ सिट जितेको थियो। १२० सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ।
दुवै पक्षसँग बहुमत नभएपछि राष्ट्रपति इसाक हर्जोगले यसै महिनाको सुरुवातमा पूर्वसेनाप्रमुखसमेत रहेका आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिएका थिए।
उनलाई सरकार गठनका लागि २८ दिनको समय दिइएको छ।
आइजेनकोटले सरकार गठनका लागि इसराइल बेइतेनु पार्टी र डेमोक्र्याट्ससँग गठबन्धन गर्ने सहमति गरिसकेका छन्।
उनको गठबन्धनमा पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट नेतृत्वको बेयाचाद पार्टी पनि छ।
बेनेटले बिहीबार नै लिकुड पार्टीसमेत सहभागी हुने एकता सरकारको पक्षमा आफू रहेको बताएका थिए। त्यस्तो सरकारको नेतृत्व सुरुमा आइजेनकोटले गर्नुपर्ने उनको भनाइ थियो।
नेतान्याहुको प्रस्तावपछि बेनेटले पनि त्यसको स्वागत गरेका छन्।
उनले आइजेनकोट नेतृत्वको एकता सरकारमा सहभागी हुन तयार भएको नेतान्याहुको निर्णय सही भएको बताएका छन्।
नेतान्याहुले भने इसराइलले सामना गरिरहेको अस्तित्वकै संकटलाई ध्यानमा राखेर आफूले एकता सरकारको प्रस्ताव गरेको बताएका छन्।
उनका अनुसार अहिलेको चुनौती सामना गर्न सक्षम सरकार आवश्यक छ।
‘यदि लिकुड वास्तविक एकताका लागि तयार छ भने उसका मनसाय कति गम्भीर छन् भन्ने कुरा आगामी २४ घण्टामा मूल्यांकन गर्न म तयार छु,’ आइजेनकोटले भनेका छन्।
उनले गत आइतबार नै नेतान्याहुलाई सरकार गठनबारे विस्तृत प्रस्ताव पठाएको तर अहिलेसम्म त्यसको जवाफ नआएको पनि बताएका छन्। शुक्रबार आइजेनकोटले लिकुडले दुई सातादेखि गठबन्धन वार्तामा ढिलाइ गरिरहेको र ठोस प्रस्तावसमेत नल्याएको आरोप लगाएका थिए।
यस निर्वाचनमा अरब समुदायको प्रतिनिधित्व गर्ने दुई गठबन्धन युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले पनि उल्लेख्य सफलता हासिल गरेका छन्। उनीहरूले संयुक्त रूपमा १९ सिट जितेका छन्। अरब मतदाताको मतदानमा सहभागिता बढेसँगै उनीहरूले अहिलेसम्मकै धेरै सिट जितेका हुन्।
यी दुई गठबन्धन सरकार गठनमा निर्णायक बन्न सक्ने अवस्थामा छन्।
तर निर्वाचनअघि यहुदी दलमध्ये एउटाबाहेक सबैले अरब दलसँग मिलेर सरकार नबनाउने बताएका थिए।
शनिबार च्यानल १२ सँगको अन्तर्वार्तामा मध्यमार्गी इस्लामवादी राआम पार्टीका नेता मन्सुर अब्बासले आफ्नो पार्टीले हमासलाई आतंकवादी संगठनका रूपमा स्वीकार गरेको संकेत दिएका छन्।
उनले आफ्नो पार्टीले सहप्रस्तावक रहेको त्यस्तो मान्यता दिने विधेयकको पक्षमा मतदान गरेको पुष्टि गरेका छन्। यसले नेतान्याहुविरुद्ध सरकार बनाउन राआम पार्टी पनि सहभागी हुन सक्ने बाटो खोल्न सक्छ।
इसराइलमा कुनै पनि दलले अहिलेसम्म एक्लै बहुमत ल्याएको छैन। त्यसैले त्यहाँ सरकार गठनका लागि दलहरूबीच गठबन्धन आवश्यक पर्दै आएको छ।
सन् २०१९ देखि २०२२ सम्म इजरायली राजनीति निकै अस्थिर बनेको थियो। त्यस अवधिमा नेतान्याहु र उनका राजनीतिक प्रतिस्पर्धीबीच सहकार्य हुन नसक्दा पाँचपटक संसदीय निर्वाचन भएको थियो।