नेपाली कांग्रेसले स्थानीय तहहरूमा 'हामी तयार छौं' अभियान सञ्चालनको तयारी गरेको छ।
७५३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन गरिने र त्यसका लागि खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्न लागिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनकाअनुसार सभापति गगन थापाको उपस्थितिमा आइतबार बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम सुरू हुनेछ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, काम गर्ने तरिका र आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
काठमाडौं उपत्यकामा रहेका प्रतिनिधिहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ।
उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूले भने जुममार्फत भर्चुअल रूपमा सहभागी हुने कांग्रेसले जनाएको छ।
असोज १८ देखि २३ गतेसम्म १५ औं महाधिवेशनबाट आएको कार्यसमितिले स्थानीय तह निर्वाचन तयारीलाई लक्ष्य गरी यो अभियान सञ्चालन गर्न लागेको हो।