समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।
क्लिनरको काम गर्ने उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
सञ्जेललाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझ्ने भएका छन्। सञ्जेललाई समातेपछि प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ।
सञ्जेललाई हाल महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले सञ्जेललाई पक्राउ गरिएको नभएर शान्ति सुरक्षाका लागि राखिएको बताए। अस्पतालमा आक्रोशित भीडबाट सुरक्षा दिन सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।
सय रुपैयाँमा सबै रोगको उपचार गराउने भन्दै सञ्जेलले सामाजिक अभियान चलाएर अस्पताल सञ्चालनमा ल्याएका हुन्। उनी ठूला व्यवसायी र चन्दादाताको सहयो लिएर अस्पताल सञ्चालन गरिरहेका छन्।